आगामी भदौ २६ गते अल नेपाल रिलिज हुने फिल्म पेन्सन पट्टामा समावेश गीत जुनी जाला सार्वजनिक गरिएको छ।
गीतले गुरुङ समुदायको मौलिक संस्कृति, प्रेम र ग्रामीण जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक गीतको भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र निर्देशक माओत्से गुरुङसहितका कलाकारको अभिनय रहेको छ।
गुरुङ समुदायको सांस्कृतिक परिवेश, परम्परागत भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले चित्रण गरिएको गीतले फिल्मको कथावस्तुबारे समेत संकेत गरेको छ। जुनी जालाले गुरुङ संस्कृतिअनुसार सजाइएको मौलिक परिवेशमा प्रेम, समर्पण र जीवनभर स“गै रहने प्रतिबद्धताको भाव प्रस्तुत गरेको छ। स्थानीय जीवनशैली, प्राकृतिक सौन्दर्य र गाउ“ले परिवेशस“गै फिल्मका पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध र संघर्षको झल्को पनि गीतमा समेटिएको छ।
गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत तथा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर रहेको छ। सञ्जीव बराइलीको गितार, पोषण मगरको मादल, रत्न विश्वकर्माको बा“सुरी र मनीष गन्धर्वको सारंगी वादन रहेको गीतको भिडियोमा कमलबहादुर गुरुङको कोरियोग्राफी रहेको छ।
निर्देशक माओत्से गुरुङका अनुसार पेन्सन पट्टा आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने संघर्षको कथा हो। फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, पुष्कर गुरुङ, पशुपति राई, स्वं सुनील थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरसहितका कलाकारको अभिनय रहेको छ। माओत्से गुरुङ फिल्म्स्को ब्यानरमा मिन कोन्मे गुरुङ (बेलायत), भोजबहादुर गुरुङ (बेलायत), माया गुरुङ (हङकङ) र सपना गुरुङद्वारा निर्मित फिल्ममा कथा पनि निर्देशक गुरुङकै रहेको छ भने गीत हर्क साउद, शिव बराइली र सुरज तमु, संगीत मनोज थापा मगर, शिव बराइली र सूरज तमु, कला निर्देशन राजु याक्चा, छायांकन सुशन प्रजापति, कलर राजेन्द्र मोक्तान, भिएफएक्स मनोज श्रेष्ठ र सम्पादन नेमिश श्रेष्ठको रहेको छ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।
हरितालिका तीजको अवसर पारेर रिलिजमा आउने फिल्मले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनाको कथा दर्शकमाझ प्रस्तुत गर्नेछ।











प्रतिक्रिया