६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा १० अर्ब १ करोड रुपैयाँ लगानी जुट्यो


काठमाडौँ।

माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुंगिएको छ।

आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएसँगै आयोजनाका लागि १० अर्ब १ करोड रुपैयाँ लगानी सुनिश्चित भएको हो।

सम्झौताअनुसार आयोजनामा एनएमबि बैंकले प्रमुख ऋणदाता (लिड बैंक) का रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ लगानी गर्नेछ। त्यस्तै, सानिमा बैंकले सहायक बैंकका रूपमा ३ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।

दुवै बैंकबाट प्राप्त हुने गरी आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी हुने भएको हो। आयोजनाको कुल अनुमानित लागत भने १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्ने जनाएको छ।

मनाङमा निर्माण हुने आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम पर्ने भएकाले आयोजना तुलनात्मक रूपमा आकर्षक मानिएको कम्पनीको भनाइ छ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माण कार्य अघि बढाउने तयारी कम्पनीले गरेको छ। निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ।

माउण्टेन इनर्जी लिमिटेडले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत आयोजनाबाट हाल नियमित रूपमा विद्युत् उत्पादन भइरहेको कम्पनीले जनाएको छ।