सम्भावित बाढीको जोखिम न्यूनीकरणको लागि रौतहटमा आवश्यक तयारी

1.22k
Shares

रौतहट ।

 वर्षायाम शुरु भएसंगै नदीमा पानीको बहाव बढ्दै गएपछि सम्भावित बाढीको जोखिम न्यूनीकरणको लागि रौतहटमा सम्बन्धित निकायहरूले आवश्यक तयारी सुरु गरेका छन् । तयारीकै क्रममा बागमती नदीको पूर्वी तटबन्धको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका डिभिजनल इन्जिनियर अभिनव चौधरी सहितको टोलीले बागमती नदीको तटबन्धको स्थलगत अनुगमन गर्दै नदीमा आउन सक्ने बाढीबाट हुन सक्ने सम्भावित क्षतिको मूल्याङ्कन गर्दै विपद् न्यूनीकरण तथा तटीय क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक पूर्वतयारी र संरक्षणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको जनाएको छ ।

 नदी कटानको उच्च जोखिम क्षेत्र, कमजोर तटबन्ध तथा सम्भावित क्षति हुन सक्ने स्थानहरूको तत्काल मर्मत गरिने भएको छ । डिभिजनल इन्जिनियर अभिनब चौधरीले वर्षायाममा नदीको बहाव बढेसँगै तटबन्धमा थप दबाब पर्ने भएकाले कमजोर संरचनाको तत्काल मर्मत गरिने जानकारी दिनु भयो । नदिको धार परिवर्तन हुन सक्ने स्थानको पहिचान गरी आकस्मिक रुपमा गर्नु पर्नेको कामको समेत तयारी गरिएको बताउनु भयो । 

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बाढीजन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित सबै निकायलाई उच्च सतर्कतामा राखिएको बताउनु भयो । तटबन्धको नियमित निरीक्षण, आवश्यक मर्मत, उद्धार तथा राहतको पूर्वतयारीलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिँदै उहाले कुनै पनि आपतकालीन अवस्थाको सामना गर्न सुरक्षा निकाय तथा प्राविधिक जनशक्ति चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताउनु भयो । राजमार्गमा हुन सक्ने बिपदको लागि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरद्वारा कार्य गरिने छ ।  बर्षायाम अवधिभर पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने तथा आवश्यक जनशक्ति परिचालनको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।