काठमाडौं ।
शक्तिशाली टाइफुन ‘डोल्फिन’ चीनको पूर्वी तटमा प्रवेश गरेपछि जनजीवन प्रभावित बनेको छ। आँधीका कारण चीनका विभिन्न क्षेत्रमा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सांघाईसहितका प्रमुख सहरमा हवाई तथा स्थल यातायात प्रभावित भएको छ।
‘डोल्फिन’ले झेजियाङ प्रान्तको युहुआनमा स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजे पहिलोपटक जमिन छोएको थियो। त्यसबेला आँधीको अधिकतम हावाको गति करिब १५० किलोमिटर प्रतिघण्टा रहेको चिनियाँ मौसम अधिकारीहरूले बताएका छन्। त्यसको करिब एक घण्टापछि आँधीले झेजियाङकै वेन्झाउ क्षेत्रमा दोस्रोपटक जमिन छोएको थियो।
आँधीका कारण सांघाईमा मात्रै १ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्। रेल, सडक तथा समुद्री यातायातसमेत प्रभावित भएको छ। चीनले यसअघि ‘डोल्फिन’का लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो। सोमबार बिहान भने आँधी कमजोर हुँदै उष्णकटिबन्धीय आँधीको तहमा झरेको अधिकारीहरूले बताएका छन्।
तर आँधी कमजोर भए पनि यसको प्रभाव तत्काल समाप्त हुने अवस्था छैन। चीनका मौसम अधिकारीहरूले बुधबारसम्म अत्यधिक वर्षा, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्।
सोमबार झेजियाङसहित सांघाई, जियाङ्सु, आन्हुई, हुबेई, हेनान र शानडोङ प्रान्तमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। झेजियाङका केही क्षेत्रमा आगामी केही दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
वेन्झाउमा मात्रै ९ लाख विस्थापित
आँधीको सबैभन्दा ठूलो प्रभाव झेजियाङ प्रान्तमा परेको छ। वेन्झाउमा मात्रै करिब ९ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको र १ हजारभन्दा बढी आपत्कालीन आश्रयस्थल सञ्चालनमा ल्याइएको स्थानीय अधिकारीहरूले बताएका छन्।
त्यस्तै, ताइझाउमा करिब ३ लाख ९० हजार मानिसलाई घरबाट सुरक्षित स्थानमा सारिएको छ।
झेजियाङको राजधानी हाङ्झाउमा बाढी र तीव्र हावाबाट बच्न सुरक्षित स्थान खोज्ने सवारी चालकलाई सहयोग पुर्याउन सार्वजनिक पार्किङस्थलमा पार्किङ शुल्कसमेत हटाइएको छ।
सांघाईमा सडक डुबान, पर्यटकीय स्थल बन्द
आँधीका कारण चीनको आर्थिक केन्द्र सांघाईमा समेत जनजीवन प्रभावित भएको छ। शहरका केही तल्लो भूभागमा पानी जमेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमले सांघाईको पर्यटकीय क्षेत्र ‘फ्रेन्च कन्सेसन’का केही भुइँतले पसलमा पानी पसेको तथा मानिसहरू घुँडासम्म आउने पानीमा हिँडिरहेको दृश्य सार्वजनिक गरेका छन्।
सुरक्षाका कारण सांघाईका केही प्रमुख पर्यटकीय गन्तव्य बन्द गरिएको छ। डिज्नील्यान्ड र लेगोल्यान्डका केही भाग तथा बन्ड क्षेत्रका केही भ्यूइङ प्लेटफर्म पनि बन्द गरिएको छ।
स्थानीय प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
नौ वर्षीय बालक बेपत्ता
यसैबीच, झेजियाङको वेनलिङका नौ वर्षीय बालक समुद्रमा बगेपछि बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। बालकको खोजी भइरहेको बताइएको छ।
हालसम्म चिनियाँ अधिकारीहरूले आँधीका कारण मानवीय क्षति भएको औपचारिक पुष्टि गरेका छैनन्।
फुजियानमा पनि उच्च सतर्कता
छिमेकी तटीय प्रान्त फुजियानमा समेत आँधीको प्रभावका कारण समुद्री गतिविधि नियन्त्रण गरिएको छ। दर्जनौँ यात्रुवाहक फेरी सेवा स्थगित गरिएको छ भने समुद्रमा सञ्चालन भइरहेका १०० भन्दा बढी निर्माण परियोजना रोकिएका छन्।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ‘डोल्फिन’ले जमिनमा प्रवेश गर्नुअघि करिब ६ हजार किलोमिटरको लामो दूरी पार गरेको थियो। यसको जीवनकाल सामान्य टाइफुनको औसत अवधिभन्दा तीन गुणाभन्दा बढी रहेको र आँधीको क्षेत्रसमेत निकै ठूलो रहेको सीसीटीभीले जनाएको छ।
विशेषज्ञहरूका अनुसार यसको ठूलो परिसञ्चरण क्षेत्र र अत्यधिक वर्षा गराउने क्षमताका कारण आँधी कमजोर भए पनि बाढी र पहिरोको जोखिम अझै उच्च रहनेछ।
चीनका पूर्वी तथा मध्य प्रान्तमा लगातार वर्षा भइरहेकाले नदीको जलस्तर बढ्ने, तल्लो भूभाग डुबानमा पर्ने तथा पहाडी क्षेत्रमा पहिरो जाने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उद्धार तथा राहत संयन्त्रलाई उच्च सतर्कतामा राखेका छन्।











प्रतिक्रिया