काभ्रेको नागी डाँडामा २० हजार बिरुवा रोप्दै रोटरी क्लव अफ काष्ठमण्डप

मिस नेपालदेखि रोटरीका डिस्ट्रिक्ट गभर्नरसम्मको सहभागिता 


काभ्रे ।

 प्लान्टिङ  टुडे फर अ ग्रिनर टुमरो अर्थात् ‘हरित भविष्यका लागि आजै वृक्षारोपण’ भन्ने नारासहित रोटरी क्लब अफ काष्ठमण्डपले काभ्रेको बनेपास्थित नागिडाँडामा जैविक बाली तथा फलफूलका बिरुवा रोपण अभियान सुरु गरेको छ।

आरुन्य नेचर रिसोर्टको सहयोगमा क्लवले आजबाट सुरु गरेको सो अभियान अन्तर्गत आगामी ३ महिना भित्र २० हजार बिरुवा रोपिने जनाएको छ । 

अभियानको शुभारम्भ गर्न आइतबार रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की, डिस्ट्रिक्ट सेक्रेटरी गौतम श्रेष्ठ, रोटरी इन्टरनेशनल ३२९२ को ब्राण्ड एम्बेस्डर समेत रहेकी मिस नेपाल २०२६ दीपमाला ढकाल, मिस नेपाल अर्थ २०२५ सोनी घले पनि नागिडाँडा पुगेका थिए । रोटरी क्लब अफ काष्टमण्डपका प्रेसिडेन्ट शैलेश वैद्य, पास्ट प्रेसिडेन्ट ज्ञानेन्द्रलाल प्रधान,  प्रदीपकुमार श्रेष्ठ (पञ्चकन्या ग्रुप) लगायत अन्य पाष्ट प्रेसिडेन्ट तथा सदस्यहरुको सहभागिता थियो । यसैगरी रोट्रयाक्ट, इन्टर्याक्टका प्रतिनिधि समेत बिरुवा रोप्ने अभियानमा जोडिएका थिए ।  

खासमा नागिडाँडालाई इलामको कन्यामको शैलीमा चियाबारीसहितको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अवधारणा अघि सारेको आरुन्य नेचर रिसोर्टसंग सहकार्य गर्न पुगेको रोटरी क्लब अफ काष्टमण्डको टोलीले आइतबार चियाका अलावा, अलैँची, एभोकाडो, सुन्तला, लिची, जापानी नास्पाती, मुन्तला तथा हलुवाबेदलगायतका विभिन्न प्रजातिका बिरुवा रोपेर फर्किएको छ ।  क्लवका प्रेसिडेन्ट शैलेश वैद्यले  चियासँगै अलैँची, एभोकाडो तथा विभिन्न फलफूलका बिरुवा रोपेर वातावरण संरक्षणसँगै कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताए । 

त्यसो त रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले यो वर्ष भित्र १ लाख बिरुवा रोप्ने घोषणा गरेको थियो । तर रोटरी क्लब अफ काष्टमण्डपले नै २० हजार विरुवा रोपिदिने घोषणा गरेपछि गर्भनर कार्की पनि पुलकित भए । अभियान शुभारम्भ गर्दै डिस्ट्रिक्ट गभर्नर कार्कीले एक लाख बिरुवा रोप्ने अभियानमा एउटै क्लबले २० हजार बिरुवा रोप्दै २० प्रतिशत जिम्मेवारी लिनु उदाहरणीय भएको बताए । 

सोही अवसरमा रोटरी डिस्ट्रिक्ट ३२९२ को ब्राण्ड एम्बेस्डर समेत रहेकी मिस नेपाल २०२६ दीपमाला ढकालले वातावरण संरक्षणसँग जोडिएको अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्। उनले वातावरण जोगाउने जिम्मेवारी युवाको काँधमा समेत रहेकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताइन्। ढकाल रोटरी क्लब अफ काष्ठमण्डपकी मानार्थ सदस्यसमेत हुन् ।

 रोटरी क्लब अफ काष्ठमण्डपका पाष्ट प्रेसिडेन्ट प्रधानले आफ्नो प्रस्तावलाई रोटरी क्लब अफ काष्टमण्डमको नयाँ कार्यसमितिले यति छिटो कार्यान्वयनमा ल्याइदिएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नागिडाँडालाई कन्याम टिको रुपमा विकास गर्ने योजना अनुसार अहिले चियासंगै भित्र भित्र हुने अलैची तथा एभोकाडो लगायतका रुखका बिरुवाहरु लगाइएको बताए । बातावरणमैत्री सो रिसोर्ट प्रधानकै लगानीमा अघि बढेको मेघा प्रोजेक्ट हो । जो आगामी तीन महिना पछि सञ्चालनमा आउने तयारीमा छ । 

जिम्मेवारी सम्हालेको डेढ महिना  नपुग्दै सामाजिक सेवामा पनि सक्रिय बन्यो रोटरी क्लब अफ काष्ठमण्डपको नयाँ नेतृत्व 

यसैबीच जिम्मेवारी सम्हालेको डेढ महिना  नपुग्दै रोटरी क्लब अफ काष्ठमण्डपको नयाँ टिम सामाजिक सेवामा पनि सक्रिय बनेर लागेको छ । उसले अहिले वातावरण संरक्षणसँगै स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

क्लबले आफ्ना सदस्यका लागि एआई तथा च्याटजीपीटीसम्बन्धी कार्यशाला सञ्चालन गरिसकेको छ। त्यस्तै, टिजिग फार्मासँगको सहकार्यमा विपन्न क्यान्सर बिरामीका लागि दुई लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि निःशुल्क वितरण गरिसकेको छ।

क्लबले हस्पिस नेपालको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुका साथै कोशी, मधेश र बागमती प्रदेशमा प्यालिएटिभ केयरसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ।

शिक्षाको क्षेत्रमा पनि क्लबले धादिङका पाँच वटा विद्यालयमा खानेपानी, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणमा लगानी गरिरहेको जनाएको छ।

यसैगरी ललितपुर र तनहुँको बन्दीपुर गरी दुई ठाउँमा विद्युतीय शबदाह गृहमा राख्नका लागि दुईवटा क्रिमेसन मेसिन सहयोग गर्ने भएको छ । रोटरी क्लब अफ काष्टमण्डपले यस कार्यका लागि ५० लाख बजेट विनियोजन गरेको छ । स्थानीय पालिकासंग हामीले यस कार्यका लागि सम्झौता समेत गरिसकेका छौँ । वैद्यले भने । 

औषधी उत्पादक तथा युवा इन्टरप्रेनर वैद्यले क्लबको नेतृत्व गरिहँदा निर्धारित योजनालाई समयमै सम्पन्न गर्ने दिशामा अघि बढेको बताउँछन् । उनी भन्छन्, यसपटक हामीले वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा खासगरी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढेका छौँ र यसलाई निरन्तरता दिने छौँ ।