चोरी भएका ५० ओटा सवारी साधन धनीलाई हस्तान्तरण


काठमाडौँ। 

 काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बिहीबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३० ओटा मोटरसाइकल र २० ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित नेपालटार, थानकोट, बलम्बु, सातदोबाटो, नरेफाट, मुलपानी, सिंहदरबार, काँडाघारी,  नयाँबसपार्क, टोखा, जोरपाटी, बौद्ध, कपन र गोकर्ण लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका ५० ओटासहित साउन महिनामा ८२ ओटा सवारी साधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका ७ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १४ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । 

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै (Gps) जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन्  ।