काठमाडौं।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकहरूले अटो लोनका लागि विशेष ब्याजदर र सुविधा उपलब्ध गराएपछि बैंकका स्टलमा अवलोकनकर्ताको भीड बढेको छ।
एक्स्पोका को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलबाटै अटो लोनसम्बन्धी जानकारी तथा आवेदनको सुविधा उपलब्ध गराएका छन्। आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले सम्बन्धित बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने तथा आवेदन दिने गरेका छन्।
बैंकहरूले एक्स्पोलाई लक्षित गर्दै आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्ममा कर्जा सुविधा उपलब्ध गराइरहेका छन्। सेवा शुल्कसमेत ०.५ प्रतिशतसम्म मात्र लिने व्यवस्था गरिएको बैंकहरूले जनाएका छन्।
एक्स्पोको तेस्रो दिनसम्म आइपुग्दा अवलोकनकर्ताको संख्या बढेसँगै अटो लोनबारे जानकारी लिन बैंकका स्टलमा पुग्नेको संख्या पनि बढेको छ।
ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मञ्जिल बिष्टले एक्स्पोमा दिनप्रतिदिन अवलोकनकर्ताको संख्या बढ्दै जाँदा बैंकको स्टलमा कर्जाबारे जानकारी लिने ग्राहकको संख्या पनि उल्लेख्य रूपमा बढेको बताए।
‘गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको संख्या उल्लेख्य छ,’ उनले भने, ‘सवारी विक्रेता कम्पनीहरूले ल्याएका आकर्षक अफरलाई सहयोग पुग्ने गरी हामीले पनि कर्जा सुविधामा सहजीकरण गरिरहेका छौँ।’
एक्स्पोमा कर्जाका लागि नाम दर्ता गराउने ग्राहकलाई सम्बन्धित बैंकका शाखासँग जोड्ने कामसमेत बैंकका स्टलबाट भइरहेको छ।
सिद्धार्थ बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माका अनुसार स्टलमा संकलित ग्राहकको विवरण केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी आवश्यकताअनुसार शाखासँग जोड्ने व्यवस्था गरिएको छ।
‘कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौँ,’ उनले भने। सवारी छनोट गरेपछि कर्जाका लागि नाम दर्ता गराउने ग्राहकको संख्या हरेक दिन बढिरहेको उनले बताए।
एनएमबी बैंकले पनि एक्स्पोमा आउने ग्राहकलाई मेलास्थलबाटै अटो लोनसम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराइरहेको जनाएको छ। बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तले नाइमा एक्स्पोलाई लक्षित गर्दै ब्याजदर परिमार्जन गरिएको र ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको बताइन्।
‘हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘नाइमालाई लक्षित गरेर ब्याजदर रिभाइज गरेका हौँ। ग्राहकको रेस्पोन्स राम्रो आइरहेको छ।’
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।











प्रतिक्रिया