काठमाडौं।
नेपालको स्वास्थ्य सेवामा दुई दशकभन्दा बढी समयदेखि पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै पाल्पास्थित युनाइटेड मिसन अस्पताल तानसेनकी निर्देशक डा. रचेल कारखलाई बेलायतको प्रतिष्ठित राष्ट्रिय सम्मान ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीई)’ प्रदान गरिएको छ।
हालै इङ्ग्ल्यान्डमा आयोजित विशेष समारोहमा बेलायती राजा चार्ल्स तृतीयले डा. कारखलाई उक्त सम्मान प्रदान गरेका हुन्। ओबीई बेलायतले समाज, स्वास्थ्य, शिक्षा, विज्ञान, कला तथा सार्वजनिक सेवाका क्षेत्रमा दीर्घकालीन र विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रदान गर्ने उच्च राष्ट्रिय सम्मानमध्ये एक हो। अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय योगदान दिएका विदेशी नागरिकलाई पनि यो सम्मान प्रदान गर्ने व्यवस्था छ।
डा. कारखले नेपालमा, विशेषगरी पाल्पास्थित युनाइटेड मिसन अस्पताल तानसेनमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। उनले मातृ तथा शिशु स्वास्थ्य, शल्यचिकित्सा सेवा, स्वास्थ्यकर्मी क्षमता विकास तथा समुदायमा आधारित स्वास्थ्य सेवाको विस्तारमा विशेष योगदान पुर्याएकी छन्।
उनी सन् २००४ देखि युनाइटेड मिसन अस्पताल तानसेनको निर्देशकका रूपमा कार्यरत रहँदै अस्पतालको सेवा विस्तार, गुणस्तर सुधार र दुर्गम क्षेत्रका बिरामीसम्म विशेषज्ञ स्वास्थ्य सेवा पहुँच पुर्याउन नेतृत्व गर्दै आएकी छन्।
स्वास्थ्य क्षेत्रमा समर्पित सेवाका लागि प्राप्त यो सम्मानले नेपालको ग्रामीण स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा अझ उँचो बनाएको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन्। डा. कारखलाई प्राप्त यो सम्मानलाई नेपालमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूका लागि पनि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।











प्रतिक्रिया