काठमाडौं।
वरिष्ठ आख्यानकार तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरको चर्चित नेपालभाषा उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उपन्यासको अंग्रेजी संस्करण सार्वजनिक गर्नुभएको हो।
कार्यक्रममा बोल्दै कार्यवाहक मेयर डंगोलले मल्ल के सुन्दरलाई बहुआयामिक स्रष्टाका रूपमा उल्लेख गर्दै उहाँको आख्यान लेखनको प्रशंसा गर्नुभयो। नेपालका साहित्यिक कृतिहरू अंग्रेजी भाषामा अनुवाद हुने क्रम अझै सीमित रहेको उल्लेख गर्दै उहाँले नेपालभाषाको चर्चित उपन्यास अंग्रेजीमा अनुवाद हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।
उपन्यासको अंग्रेजी अनुवाद डा. ज्योति प्रभा तुलाधरले गर्नुभएको हो भने पुस्तक आदर्श इन्टरप्राइजेजले प्रकाशन गरेको हो।
कार्यक्रममा प्रकाशकका तर्फबाट निर्मलकुमार कर्णले स्वागत मन्तव्य राख्नुभएको थियो। साहित्यकार तथा समालोचक प्रा. डा. अभि सुवेदी, नेपालभाषा एकेडेमीका उपकुलपति (भाइस चान्सलर) डा. पुष्पराज राजकर्णिकार तथा हाल पोर्चुगलमा रहनुभएकी अनुवादक डा. तुलाधरले भिडियो सन्देशमार्फत मन्तव्य व्यक्त गर्नुभएको थियो।
अनुवादक डा. तुलाधरले उपन्यासको विषयवस्तुले आफूलाई गहिरो रूपमा आकर्षित गरेको बताउनुभयो। समालोचक प्रा. डा. सुवेदीले उपन्यासको प्रस्तुति शैली प्रभावशाली रहेको धारणा राख्नुभयो भने डा. राजकर्णिकारले मल्ल के सुन्दरको बहुआयामिक लेखन शैलीको प्रशंसा गर्नुभयो।











प्रतिक्रिया