२३ जिल्लाका केही स्थानमा अति भारी वर्षाको सम्भावना

अन्यन्त जरुरी नभए यात्रामा ननिस्किन प्राधिकरणको आग्रह


–राती सवारी चलाउन रोक

काठमाडौँं ।

मनसुन थप सक्रिय भई ठुलो वर्षा हुने सम्भावना देखिएपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता सूचना जारी गरेको छ ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतले शनिवार जारी गरेको सूचनामा भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाबको कारण सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि आवश्यक कार्य गर्न र गराउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

प्राधिकरणले अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातीको समयमा यात्रा नगर्न पनि अनुरोध गरेको छ । प्राधिकरणको सूचनामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर,काभ्रे,सिन्धुपाल्चोक,नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत,बागलुङ, म्याग्दी र स्याङ्जामा गरी २३ जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै रातीको समयमा सवारी आवागमनमा रोक लगाउने र परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्ने उल्लेख छ ।

ती जिल्लामा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले सूचना जारी गरेको छ ।

त्यस्तै जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । जिल्ला सुरक्षासमिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना र चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले आग्रह गरेको छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सेभ गरी राख्ने र आवश्यक सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

उता जल तथा मौसम विज्ञान विभागले आज आइतवार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको बुलेटिनमा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।