काठमाडौं।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो १६औँ स्थापना दिवस तथा वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको द ब्लु पेभिलियन मा आयोजित कार्यक्रममा सीआईबीले विगतका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा विशिष्टीकृत अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको हो। कार्यक्रमको पहिलो चरणमा ब्युरोका पूर्व प्रमुखहरूसँग अन्तरसंवाद आयोजना गरिएको थियो।

अन्तरसंवादमा संस्थागत अनुभवको आदान–प्रदान, विगतको समीक्षा, वर्तमान चुनौती तथा भविष्यको रणनीतिक मार्गचित्रबारे छलफल भएको थियो। दोस्रो चरणको कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, सरकारी वकिल कार्यालयहरू, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायतका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघका अध्यक्षलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए। सो अवसरमा सीआईबीसँग समन्वय र सहकार्य गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न सरकारी निकाय, साझेदार संस्था तथा सरोकारवालाहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। ब्युरोमा कार्यरत रही हाल अवकाश प्राप्त अनुसन्धान अधिकृतहरूलाई पनि सम्मान गरिएको थियो।
नेपाल प्रहरीले गम्भीर प्रकृतिका, संगठित तथा समाजको शान्ति–सुरक्षामा प्रत्यक्ष असर पार्ने अपराधको विशिष्टीकृत अनुसन्धान गर्ने उद्देश्यले २०६७ साउन १ गते केन्द्रीय अनुसन्धान ब्युरो स्थापना गरेको थियो। स्थापना दिवसका अवसरमा सीआईबीले १६ वर्षको अनुभवलाई आत्मसात् गर्दै व्यावसायिक अनुसन्धान प्रणालीको विकास, कानुनी शासनको सुदृढीकरण तथा नागरिकको विश्वास अभिवृद्धिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता दोहोर्याएको छ।











प्रतिक्रिया