रौतहट ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न ट्रक चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको थियो।
ठक्करको प्रभावले बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमै पल्टिएको थियो। दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम–९ का करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौंडाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका प्रदीप खड्का, इनरुवा–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङ सुन्दरहरैँचा–५ की ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरीका ३२ वर्षीय सफल मगर तथा ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, सिमन्त हाईवे अस्पताल चपुरमा उपचाररत सफल मगर भने उपचारकै क्रममा आफ्नै इच्छाले अस्पतालबाट हिँडेका छन्। दुर्घटनापछि गरिएको परीक्षणमा ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा चालकको लापरबाही र मादक पदार्थ सेवन दुर्घटनाको प्रमुख कारण हुन सक्ने जनाएको छ। दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि अहिले सडक सञ्चालन सामान्य भइसकेको छ।











प्रतिक्रिया