काठमाडौं, (नेस) ।
फिफा निलम्बनका कारण नेपाल आगामी अक्टोबरमा हुने एएफसी यु–१७ महिला एसियन कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार समूह विभाजन गरेको थियो । फिफा निलम्बन फुकुवा नभएका कारण कीर्तिमानी ३० टोलीको सहभागिता रहने प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुन सकेन ।
नेपालमा फुटबलको प्रशासनिक संकट गहिरिँदै जाँदा यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय सहभागितामा परेको हो । दुई साताअघि मात्र नेपाल एएफसी महिला च्याम्पियन्स लिग २०२६÷२७ बाट बाहिरिएको थियो । घरेलु महिला लिग स्थगित भएकाले नेपालले प्रतिनिधि क्लब नै पठाउन नसकेको अनुमानबीच एन्फाले साबिकविजेता एपिएफलाई प्रतिनिधिका रुपमा मनोयन गरी दर्ता गराएको जनाउँदै निलम्बनकै कारण प्रतियोगिताबाट बाहिरिनुपरेको दाबी गरेको थियो ।
च्याम्पियन्स लिगमा सहभागिता जनाउन नसकेको जानकारी गराएकै दिन एन्फाले एएफसीबाट आएको पत्र पनि सार्वजनिक गरेको थियो । एएफसीले जुन २७ मा एन्फालाई पत्र पठाउँदै फिफा निलम्बन कायम रहे एएफसी यु–१७ महिला एसियन कप २०२७ छनोट र एएफसी यु–२० छनोटबाट पनि नेपाललाई हटाइने चेतावनी दिएको थियो ।
एएफसी यु–१७ महिला छनोटमा नेपालको सहभागिता सुनिश्चित गर्न १३ जुलाईको डेडलाइन तोकिएको थियो । त्यस्तै नेपालले एएफसी यु–२० छनोटमा सहभागिता जनाउने हो भने अगस्ट १ भित्र फिफा निलम्बन फुकुवा हुनुपर्नेछ ।
एएफसी यु–१७ महिला एसियन कप छनोट आगामी अक्टोबर ५ देखि ११ सम्म हुनेछ । सहभागी ३० टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन लिगपछि शीर्ष टोलीहरु अर्को वर्ष चीनमा हुने एसियन कपका लागि छनोट हुनेछन् । अघिल्लो संस्करणका शीर्ष चार टोली अर्थात् च्याम्पियन उत्तर कोरिया, उपविजेता जापान र अन्तिम चारसम्मको यात्रा गरेका अस्ट्रेलिया र चीन यसअघि नै फाइनल प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।











प्रतिक्रिया