काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका स्वास्थ्य सेवातर्फका २३ जना कर्मचारीलाई १५ दिनभित्र स्पष्टिकरण (सफाइ) पेस गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ६० को उपदफा (१०) को खण्ड (ख) बमोजिम लगातार ६० दिन वा सोभन्दा बढी अवधिसम्म कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई सफाइ पेस गर्न आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित कर्मचारीले आफू लामो समयसम्म कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाउँदै विभागीय सजाय किन नगर्ने भन्ने विषयमा आवश्यक प्रमाण तथा कागजातसहित लिखित सफाइ पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र सफाइ पेस गरे प्रचलित कानुनअनुसार विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
सफाइ पेस गर्न भनिएका कर्मचारीमध्ये अधिकांश चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा आयुर्वेद विकास केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । उनीहरू स्वास्थ्य जनरल नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, हेल्थ असिस्टेन्ट, रेडियोलोजी, फार्मेसीलगायत विभिन्न सेवा समूहका कर्मचारी हुन् ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा लामो समयदेखि कार्यालयसँग सम्पर्कविहीन रहेका कर्मचारीलाई कानुनी प्रक्रियाअनुसार अन्तिम अवसरस्वरूप स्पष्टीकरण मागिएको उल्लेख गरिएको छ । मन्त्रालयले निर्धारित समयभित्र सफाइ पेस नगर्ने कर्मचारीमाथि निजामती सेवा ऐन तथा प्रचलित कानुनबमोजिम विभागीय कारबाही अघि बढाइने स्पष्ट गरेको छ ।












प्रतिक्रिया