काठमाडौं
इजरायलको केयरगिभर (स्याहारसुसार) क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट गर्न गरिएको लटरी प्रक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ। इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) कार्यालयमा पारदर्शी र निष्पक्ष रूपमा गरिएको लटरीको प्रत्यक्ष प्रसारणमार्फत नेपाल र इजरायलका सम्बन्धित अधिकारी तथा सञ्चारकर्मीले समेत प्रक्रिया अवलोकन गरेका थिए।
लटरी प्रक्रियामा कुल एक हजार ११५ जना उम्मेदवार सहभागी थिए। तीमध्ये ७८४ पुरुष र ३३१ महिला रहेका थिए। प्रत्येक समूहबाट ७५ प्रतिशतका दरले छनोट गर्दा कुल ८३६ जना उम्मेदवार अन्तिम चरणका लागि छनोट भएका छन्।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले इजरायलको केयरगिभर क्षेत्रमा चाँडै थप दुई हजार १०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिए। साथै, ‘होम–बेस्ड केयरगिभिङ’ र ‘कृषि श्रमिक’ सम्बन्धी दुई वटा द्विपक्षीय प्रोटोकल अन्तिम चरणमा रहेको उल्लेख गर्दै ती सम्झौतापछि पनि नेपाली कामदारका लागि उल्लेखनीय अवसर सिर्जना हुने बताए।
छनोट भएका उम्मेदवारले अब स्वास्थ्य परीक्षण र आपराधिक अभिलेख (क्रिमिनल रेकर्ड) प्रमाणीकरणलगायत अन्तिम प्रक्रिया पूरा गर्नुपर्नेछ। स्वास्थ्यका दृष्टिले योग्य र कुनै आपराधिक अभिलेख नभएका उम्मेदवारलाई आगामी सेप्टेम्बरदेखि चरणबद्ध रूपमा इजरायल पठाइने जनाइएको छ।
नेपाल–इजरायल श्रम सम्झौताअन्तर्गत जाने नेपाली कामदारले इजरायली कानुनअनुसार त्यहाँका स्थानीय कामदारसरह न्यूनतम पारिश्रमिक तथा अन्य श्रम सुविधा प्राप्त गर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ।
दुवै देशले श्रमिक छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र समान अवसरमा आधारित बनाउने प्रतिबद्धता दोहोर्याउँदै यस लटरी प्रक्रियाको सफल सम्पन्नताले नेपाल–इजरायल श्रम सहकार्यमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको जनाएको छ।











प्रतिक्रिया