धादिङ ।
धादिङबेसीस्थित ऐतिहासिक श्री भैरवी मन्दिरको नाममा रहेको गुठी जग्गा संरक्षण तथा सर्वोच्च अदालतको २६ वर्षअघिको फैसला कार्यान्वयन गर्ने प्रक्रिया सुरु भएपछि धादिङमा गुठी जग्गाको विषय पुनः चर्चामा आएको छ ।
लामो समयदेखि व्यक्तिहरूको भोगचलनमा रहेको तथा कतिपय स्थानमा पक्की घरसमेत निर्माण भइसकेको गुठी जग्गाको वास्तविक साँध–सिमाना निर्धारण गरी भैरवी मन्दिर गुठी व्यवस्थापन समिति कै नाममा कायम गर्ने तयारी थालिएपछि स्थानीय तहमा चासो र बहस बढेको हो ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिले ०८३ असार २३ गते सार्वजनिक सूचना जारी गर्दै धादिङबेसी स्थित नीलकण्ठ ५ ÷च ३२ र ३३ नम्बर कित्ता र ५÷घ को १४६ र १४७ नम्बरको कित्ताको जग्गाको साँध–सिमाना छुट्याउने जानकारी गराएको थियो । समितिले प्रभावित व्यक्तिहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन तथा अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ। सम्भावित विवादलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङसँग सुरक्षा व्यवस्थाको समेत माग गरिएको समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
समितिका अनुसार अन्तर्गत साविक नीलकण्ठ गाउँविकास समिति वडा नं ५ का जग्गा भैरवी मन्दिर गुठीको स्वामित्वमा रहेका छन् । यी जग्गामध्ये धेरै भागमा अहिले निजी व्यक्तिले पक्की घर, व्यापारिक भवन तथा अन्य संरचना निर्माण गरी बसोबास गर्दै आएका छन् । कतिपय स्थानमा दशकौँदेखि निरन्तर भोगचलन भइरहेको भए पनि सर्वोच्च अदालतले ती जग्गा खानकी गुठीभएकोले निजी मोही हक कायम हुन नसक्ने स्पष्ट फैसला गरेको छ ।
सर्वोच्च अदालतले विसं २०५६ फागुन २७ गते तत्कालीन न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको एकल इजलासबाट फैसला गर्दै चन्द्रे दमाईलगायतले दाबी गरेको मोहीयानी हक खारेज गरेको थियो । अदालतले गुठी संस्थान ऐन, २०३३ अनुसार मन्दिरमा नागरा–बाजा बजाउने सेवा तथा धार्मिक प्रयोजनका लागि भोगचलन गरिने गुठी जग्गामा मोही हक लागू नहुने र त्यस्तो जग्गा व्यक्तिको नाममा दर्ता वा हक हस्तान्तरण गर्न नमिल्ने स्पष्ट व्याख्या गरेको थियो ।
अदालतले गुठीको जग्गा गुठीकै नाममा कायम रहने निर्णय सुनाएको भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा २६ वर्षसम्म जग्गा व्यक्तिको प्रयोगमै रहँदै आएको समितिको भनाइ छ ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार विसं २०५३ सालतिर गुठीको जग्गामा नक्कली मोही कायम गरी विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको थियो । नीलकण्ठ ५ /च कित्ता नम्बर ३२ को ६–२–३–१ क्षेत्रफलको जग्गालाई जिल्ला नापी कार्यालयले मालपोत कार्यालयको पत्रको आधारमा २०५६ साल भदौमा १० कित्तामा विभाजन गरी व्यक्तिको नाममा दिलाएको थियो । यसैगरि कित्ता नम्बर ३३ को ५–५–१–० लाई ३ कित्तामा विभाजन गरिएको थियो । यसबाहेक पनि घडेरीका रुपमा मोही कायम भएको भन्दै विभिन्न व्यक्तिहरुलाई कागज लिगत गरी गरी बिक्री गरिएको समेत गरी अहिले सो २ कित्ता जग्गामा ३० भन्दा बढी घरटहरा निर्माण एकाे छ ।
यसैगरि नीलकण्ठ ५÷घ कित्ता नम्बर १४६ को २–१२–०–३ क्षेत्रफललाई ४ कित्ता र नम्बर १४७ को ६–०–१–२ क्षेत्रफलको जग्गालाई ११ कित्तामा विभाजन गरिएको तथ्यांक रहेको जिल्ला नापी कार्यालयमा देखिएको छ । यि जग्गाहरु भैरवी मन्दिर गुठी व्यवस्थापन समितिको नाममा सर्वोच्च अदालतको फैसला कार्यान्वयन बमोजिम २०८२ साउन ३० गते लालपुर्जा लगेको जिल्ला मालपोत कार्यालयका प्रमुख मनोजकुमार पोखरेलले जानकारी दिनुभयो ।
घर तथा टहराहरु रहेको र केही घरहरु त पक्की संरचना समेत रहेको गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले अदालतको फैसला कार्यान्वयन गरी गुठी सम्पत्ति संरक्षण गर्नु समितिको दायित्व भएको बताउनुभयो ।
समितिले गुठी जग्गालाई व्यवस्थित संरक्षण गरी मन्दिरको नियमित आम्दानीको स्रोतका रूपमा विकास गर्ने योजना बनाएको जनाएको छ। गुठीको जग्गा संरक्षण भए धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न आवश्यक आर्थिक आधार बलियो हुने समितिको विश्वास छ।
धादिङको सुनौला बजारको माथि डाँडामा रहेको भैरवी मन्दिर नेपालका राजा राम शाहले विसं १६६६ मा स्थापना गरेका आठ शक्तिपीठमध्ये एक मानिन्छ । मन्दिर नेपालको एकीकरण अभियानसँग पनि जोडिएको ऐतिहासिक विश्वास रहेको छ ।
तत्कालिन सरकारले चन्द्र दमाई र टेक बहादुर दमाईंलाई खान्की गुठी दिइएको लालमोहर समेत रहेको छ ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार पृथ्वीनारायण शाहले नुवाकोट विजयअघि भैरवी मन्दिरमा बास बसेर भाकल गरेको र त्यसपछि विजय प्राप्त गरेको विवरण विभिन्न ऐतिहासिक अभिलेखमा उल्लेख गरिएको छ। यही ऐतिहासिक तथा धार्मिक महत्वका कारण मन्दिरको गुठी सम्पत्तिको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको समितिको भनाइ छ।
यद्यपि लामो समयदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दा, निर्माण भइसकेका संरचना तथा सामाजिक पक्षलाई समेत संवेदनशील रूपमा सम्बोधन गर्दै कानुनबमोजिम समाधान खोज्नुपर्ने चुनौती भने उत्तिकै रहेको देखिन्छ। अदालतको आदेश, सरकारी निकायको समन्वय र स्थानीय सहमतिका आधारमा आगामी दिनमा भैरवी गुठीको जग्गा संरक्षणको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयलाई अहिले धादिङवासीले चासोका साथ हेरिरहेका छन् ।
ऐतिहासिक, धार्मिक क्षेत्र समेत भएकोले भैरवी मन्दिर संरक्षण गर्दै केही वर्षदेखि व्यवस्थापन समितिको पहलमा मन्दिर पुनः निर्माण भएको छ भने यतिखेर आन्तरिक तथा बाह्य पर्यटक समेत आउने गरेका छन् ।













प्रतिक्रिया