यसपटक पनि उपाधि विश्व विजेताकै पोल्टामा

0
Shares

काठमाडौं ।

जारी विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएसँगैं उपाधि विश्व विजेताकै हातमा जाने पक्का भएको छ । क्वार्टरफाइनल खेलहरू जित्दै फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना अन्तिम चारमा पुगेका हुन् । यी सबै विश्व विजेता टोलीहरूले विश्वकप नजितेका टोलीहरूलाई हराएका हुन् ।
फ्रान्सले अफ्रिकी टोली मोरक्कोलाई २–० ले हराउँदा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गरेको हो । यस्तै, इंग्ल्यान्डले नर्वेको चुनौती २–१ ले समाप्त गर्दा अर्जेन्टिनाले स्वीट्जरल्यान्डलाई ३–१ ले हराएको हो । योसँगैं विश्वकप विजेतासँग विश्वकप नजितेका टोलीहरूले कुनै स्तब्ध नतिजा निकाल्न सकेनन् ।

विश्वकप प्रतियोगिताको २२ औं संस्करण समाप्त हुँदा केवल ८ टोलीहरूले उपाधि जितेका छन् । जसमा उरुग्वे, इटाली, जर्मनी, ब्राजिल, इंग्ल्यान्ड, अर्जेन्टिना, फ्रान्स र स्पेन रहेका छन् । यसमा यूरोप र दक्षिण अमेरिकाकै टोलीहरूकै वर्चश्व रहेको छ । अहिले सेमिफाइनलमा पनि यी दुबै महादेशका टोलीहरू नै छन् ।

फ्रान्स १९९८ र २०१८ का विश्वकपका विजेता हो । फ्रान्स १९९८ मा चारपटकको विश्व विजेता ब्राजिललाई हराएर नयाँ विजेता बनेको थियो । यसपछि स्पेन २०१० मा नयाँ विश्व विजेता बनेको थियो ।
स्पेन विश्व विजेता बनिसकेपछि भने योसमेत चार विश्वकपको आयोजना भयो । यसमध्ये एक फाइनलमा मात्रै विश्वकप नजितेको टोलीले खेलेको थियो । रसियामा २०१८ मा भएको विश्वकप फाइनलमा फ्रान्ससँग क्रोएसियाले खेलेको थियो । तर, क्रोएसिया नयाँ विश्व विजेता बन्न सफल भएन ।

यसपटक ४८ टोलीलाई खेलाएर फिफाले एउटा नौलो प्रयोग गरेको छ । धेरै संख्यामा टोलीहरू सामेल गराउँदा पनि अन्ततः विश्वकप उठाइसकेको टोलीहरूबीच नै फाइनल खेल हुने भयो । यसले यही स्पष्ट गर्छ कि विश्वकप जित्ने टोलीहरूसँग खेल्न पूरै योजनाका साथ मैदानमा उत्रनु पर्दछ ।

जस्तै, पारग्वेले चारपटकको विश्व विजेता जर्मनीलाई हराएर सनसनी मच्चायो । तर, यही टोली अन्तिम १६ मा अर्को विश्व विजेता टोली फ्रान्ससँग खेल्न सकेन । यसैगरी मोरक्कोले पुनरागमन गर्दै नेदरल्यान्ड्सलाई हरायो तर, क्वार्टरफाइनलमा दुईपटकको विश्व विजेता फ्रान्ससँग सहजै पराजित भयो ।

यस्तै, नर्वेले पाँचपटकको विश्व विजेता ब्राजिललाई अन्तिम १६ मा हरायो । यसले नर्वेलाई उपाधि दावेदारीमा उभ्यायो तर, क्वार्टरफाइनलमा १९६६ को विश्व विजेता इंग्ल्यान्डले नर्वेको सपना चकनाचुर पारिदियो ।

यस विषयमा वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले विश्व विजेता बन्न त्यतिकै नसकिने बताए । राजवंशीले बताए–विश्वकप ट्रफी त्यतिकै उठाउन सक्ने होइन । अहिले वरियतामा शीर्ष चार टोली नै सेमिफाइनलमा पुगेको छ । यी टोलीहरू अनुभवमा हेर्ने हो कि प्रदर्शनमा हेर्ने हो बलिया देखिन्छन् । यसैले यी टोलीहरूलाई हराउन मुश्किल नै भएको हो ।

राजवंशीले इजिप्टको उदाहरण दिँदैं बताए–इजिप्टले २–० को अग्रता लिएको हो नि । तर, उनीहरूलाई यो अग्रता कसरी जोगाउने भन्ने कुनै अनुभव भएन । यही कुरा मोरक्कोमाथि पनि लागू हुन्छ । मोरक्कोले फ्रान्सको एट्याकसँग कसरी सामना गर्ने त्यसमा विचार नै पु¥याएको देखिएन । नर्वे र बेल्जियम राम्रो रहेपनि उपाधि जित्ने खालका देखिएन । विश्वकप नजितेका टोलीहरू राम्रा छन् तर, उपाधि जित्ने कसरी भन्ने उनीहरूसँग योजना हुँदैन । । त्यसैले प्रायजसो विश्वकपमा विश्व विजेता बनेको टोलीहरूले वर्चश्व बनाइरहेको हुन्छ ।

विश्वकप विजेता टोलीहरू
५ ब्राजिल १९५८, १९६२, १९७०, १९९४, २००२
४ इटाली १९३४, १९३८, १९८२, २००६
४ जर्मनी १९५४, १९७४, १९९०, २०१४
३ अर्जेन्टिना १९७८, १९८६, २०२२
२ उरुग्वे १९३०, १९५० ÷ फ्रान्स १९९८, २०१८
१ इंग्ल्यान्ड १९६६ ÷ स्पेन २०१०