
मुगु । काठमाडौंको त्रिपुरेश्वरमा जरिबाना तिर्ने विषयमा भएको विवादपछि आत्मदाह गरी मृत्युमा पुगेका मुगुको सोरु गाउँपालिका–१, जवालधारा निवासी २५ वर्षीय गणेश नेपालीको निधनको खबरसँगै जन्मगाउँ सोरु गाउँपालिकाको जवालधारा शोकमा डुबेको छ ।
गणेशको निधनको खबर गाउँ पुग्नासाथ जवालधारामा शोकको वातावरण छाएको स्थानीय ज्वारी शाहीले बताए । उनका अनुसार गाउँका अधिकांश बासिन्दा स्तब्ध छन् भने पाँचजना परिवारको आशाको दियो ढलेको छ । एक मेहनती तथा संघर्षशील युवाको असामयिक निधनले सबै नेपाली विशेष गरी मजदुरी गरेर खाने वर्गलाई मर्माहत बनाएको छ ।
अीार्थिक अभावसँग संघर्ष गर्दै हुर्किएका गणेश जीविकोपार्जनका लागि काठमाडौंमा मोटरसाइकल पठाओ चालकका रूपमा काम गर्दै आएका थिए । गाउँमा रोजगारीको अवसर नहुँदा उनले श्रीमती यकमाया र दुई साना सन्तानलाई भक्तपुरमा राखेर परिवारको गुजारा चलाइरहेका थिए ।
उनको निधनसँगै परिवारको भविष्य अन्योलमा परेको छ । मृतकका बुबा चिने नेपाली र आमा रिउली नेपाली भने अहिले हुम्लाको अदानचुली गाउँपालिकास्थित मकै गाउँमा अर्काको जग्गा अधियाँमा कमाएर जीविकोपार्जन गर्दै आएका छन् । उनका जेठा दाइ, भाउजू तथा भतिजा–भतिजी काठमाडौंमै बस्छन् ।
सोरु गाउँपालिका–१ का वडाध्यक्ष धनकर्ण मल्लका अनुसार गणेशको मृत्युले गाउँभरि गहिरो पीडा छाएको छ । ‘गाउँमा रोजगारी नहुँदा बाध्य भएर बाहिर गई संघर्ष गरिरहेका युवाको यस्तो दुःखद अन्त्य हुनु अत्यन्त पीडादायी हो । अहिले उनकी श्रीमती, दुई साना बालबालिका र वृद्ध बाबुआमाको अवस्था सम्झँदा गाउँ नै भावविह्वल बनेको छ’, उनले भने ।
झन् हृदयविदारक पक्ष त के छ भने, आत्मदाह गर्नुभन्दा एक दिनअघि मात्र गणेशले आफ्ना बाबुआमासँग फोनमा कुरा गरेका थिए । उनले काठमाडौंमा सबै सकुशल रहेको जानकारी दिँदै बाबुआमालाई धेरै दुःख नगर्न आग्रह गरेका थिए । ‘हामी सबै काठमाडौंमै छौं । तपाईंहरू दुईजना मात्र गाउँमा हुनुहुन्छ । अरूको अधियाँमा यति धेरै दुःख नगर्नुस् । सकिन्छ भने त्यो काम छोडिदिनुस् । सक्नुहुन्छ भने जत्रो भए पनि आफ्नै खेतबारीमा खेती गर्नुस् । अब हाम्रो कमाइ राम्रो भयो भने हामी दाजुभाइ मिलेर तपाईंहरूलाई काठमाडौं ल्याउँछौं’, गणेशले बाबुआमालाई सम्झाएको छिमेकी सुुग्या नेपालीले बताए ।
एक दिनअघि मात्र फोन गरेर ‘अब धेरै दुःख गर्नुपर्दैन, छिट्टै काठमाडौं ल्याउँछु’ भन्दै आश्वासन दिएका छोराको भोलिपल्टै मृत्युको खबर सुन्नुपर्दा वृद्ध बाबुआमाको संसार नै उजाडिएको छ । हुम्लाको अदानचुली गाउँपालिका–३, मकै गाउँमा रहेका उनीहरू छोराको निधनको पीडाले विक्षिप्त बनेका छन् । छोराको सम्झनामा बारम्बार बेहोस हुने उनीहरूलाई त्यस बेला आफन्त र गाउँलेले सम्हाल्नसमेत मुस्किल परेको स्थानीयले बताएका छन् ।
अन्तिमपटक छोराको अनुहार हेर्न उनीहरू गत शुक्रबार नै हुम्लाबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए ।
गणेश नेपालीको निधनले उनको परिवारलाई मात्र होइन, संघर्ष गरेर जीवन अघि बढाइरहेका हजारौं युवाको पीडा र बाध्यताको कठोर यथार्थलाई पनि उजागर गरेको छ । रोजगारीको खोजीमा गाउँ छोड्न बाध्य युवामध्येका एक गणेशको जीवन दुःखदरूपमा अन्त्य भएपछि जवालधारा गाउँ अहिले गहिरो शोकमा छ भने परिवारजन काठमाडौंमा भावविह्वल अवस्थामा तड्पिएको छ । मुगु जिल्ला र देशका श्रमजीवी वर्ग मृतक गणेशका परिवारलाई उचित क्षतिपपूर्तिसहित गणेशलाई शहीद घोषणाको माग राखी मुगु सदरमुकाम गमगढी, प्रदेश राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंसम्म प्रदर्शन गरिएको थियो । आखिर सरकारले यस घटनाको सम्बोधन गरिसकेको छ । यस किसिमको आत्मदाह गर्नुपर्ने अवस्था कसैलाई पनि नआओस् भन्ने कामना गरौँ ।











प्रतिक्रिया