उदयपुर ।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले साउन १ गतेबाट एकीकृत सेवा केन्द्र संचालनमा ल्याउने भएको छ । त्रियुगा नगर कार्यपालिकाको सोमबार सम्पन्न बैठकले एकीकृत सेवा केन्द्र संचालन कार्यविधि जारी गरेसँगै साउन १ बाट केन्द्र संचालन हुने भएको हो ।
केन्द्र संचालन भएपछि त्रियुगा नगरपालिकाको कार्यालयमा सेवाग्राहीले नगरपालिकाबाट सेवा लिन जाँदा एक स्थानमा फायल दर्ता गरेपछि सेवाग्राही आफैले फायल विभिन्न शाखा र फाँटमा पुयाउनु पर्ने अवस्था अन्त्य हुने छ ।

सेवा केन्द्रमा कुनै पनि फायल नगरका कर्मचारीले विभिन्न फाँटमा पुर्याउने र अन्तिममा सेवाग्राहीलाई सम्पन्न गरेर दिने पद्धतीको विकास गरिने नगरप्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो । बैशाख दोस्रो साता भएको अन्तरपालिका भ्रमणको क्रममा दैलेखको दुल्लु नगरपालिकामा भएको व्यवस्था त्रियुगा नगरपालिकाले पनि कानुन निर्माण गरेर लागु गर्न लागेको हो ।
उक्त कुरा त्रियुगा नगरपालिकाको आब २०८२।८३ को सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख बस्नेतले एकीकृत सेवा केन्द्र संचालनमा आउने जानकारी दिनुभयो । नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८२÷८३ को तेस्रो चौमासिकमा प्रवाह गरेका सार्वजनिक सेवा र प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुको पश्नको उत्तर दिने क्रममा नगर प्रमुख बस्नेतले उक्त कुरा राख्नु भएको छ ।
त्रियुगा नगरपालिकाको आयोजना तथा रौतामाई नेटवर्क प्रा.लीको सहजिकरणमा नगरपालिकाको सभाहलमा सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, राजनीतिक दल, विषयगत शाखाहरुका प्रमुख एवम प्रतिनिधिहरुले गुनासा तथा टिप्पणी र सुझावहरु राखेका थिए ।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन गर्दै नगरप्रमुख वसन्त बस्नेतले राज्यको नीति र पद्धती नै व्यवहारिक नहुँदा कतिपय काममा कठिनाइ भएको भएपनि नगरपालिका समृद्धिको बाटोतर्फ उन्मुख हुँदै गएको दाबी गर्नु भयो ।
नगर प्रमुख बस्नेतले नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम, शिक्षामा स्थानीय पाठ्यक्रम लागू गरि बिद्यालयको दरवन्दी मिलान गरि शिक्षामा गुणस्तर बढाउने काम, स्वास्थ्यमा आफ्नै नगर अस्पताल स्थापना गरि अत्याधुनिक भवनको निर्माणकार्य, जिल्ला अस्पतालमा डाइलाईसिस सेवाको सुरुवात, पूर्वाधार तर्फ करिव ४० किलोमीटर कालोपत्रे सडक, र विश्व बैंकको लगानी पुन ल्याउने प्रक्रिया अगाडि बढेको र त्रियुगा रिङरोड निर्माणको थालनी भएको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले युवा लक्षित कार्यक्रम गरि युवाहरुलाई स्वरोजगार बनाउने तर्फ लाग्न सुझाव दिएका थिए । यस्तै सहभागीहरुले कृषिलाई व्यवसायीक बनाउदै उत्पादन सँग जोडेर आत्म निर्भर बनाउने योजना ल्याउन आग्रह गरेका थिए ।
सहभागीहरुका सवाल र गुनासाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले १२ सय बढी महिला कृृृषकलाई आधारशीला तालिम दिएर समुह बनाई कृषिमा आवद्द्ध गरेको र वार्षिक रुपमा २ सय बढी युवालाई स्वरोजगार बनाउन सिपमुलक तालिमको आयोजना गरि तलिम दिरहेको बताउनु भयो ।
स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पतालमा डाइलेसिस सेवाको सुचारु गरेको र नगरअस्पताल संचलानमा ल्याएर सेवा सुचारु गर्नुका साथै मेयर सँग ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम मार्फत ज्येष्ठ नागरिकको घर घरमा औषधि पुर्याउने गरेको बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख महेश्वरी राईले नगरपालिकाले गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहीतालाई ध्यानमा राखेर काम गर्ने गरेको बताउनु भयो । यस्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्न पर्ने बिषयमा प्रकाश पार्नुका साथै सार्वजनिक सुनुवाईको महत्वको बिषयमा बताउनु भएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ३ का अध्यक्ष तिलक कटुवाल, ४ का अध्यक्ष बन्द्री बस्नेत, ६ का अध्यक्ष योगेन्द्र दाहाल लगाएतको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया