उदयपुर ।
नेपालटार–उदयपुरगढी दरबार सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दै गुनासो बढेपछि उदयपुरगढी गाउँपालिकाले निर्माण व्यवसायीलाई तत्काल सुधारात्मक कार्य गर्न निर्देशन दिएको छ ।


आइतबार गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा स्थानीय नागरिकहरूबाट सडकको गुणस्तरबारे गुनासो प्राप्त भएको र पालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिअनुसार उक्त सडकको निर्माण कार्य अझै सम्पन्न भइसकेको छैन । गत आर्थिक वर्षमा कालोपत्रे सम्पन्न भएको केही भागमा सतह बिग्रिएको, उप्किएको तथा क्षति देखिएको छ । यस विषयमा जिम्मेवार निर्माण व्यवसायीलाई सम्झौता र प्राविधिक मापदण्डअनुसार तत्काल सुधार गर्न औपचारिक पत्राचार गरिसकिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले गत २८ असारमा अनुगमन टोलीका संयोजक, सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा गत आवमा कालोपत्रे गरिएको भागमा क्षति पुगेको प्रारम्भिक रूपमा देखिएको छ ।
पालिकाले अहिले प्राविधिक परीक्षण तथा थप मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको जनाएको छ । तोकिएको समयभित्र सुधार नगरे प्रचलित कानुन तथा सम्झौता बमोजिम कारवाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।
प्रवक्ता विश्वकर्माले उदयपुरगढी गाउँपालिका सार्वजनिक निर्माण कार्यको गुणस्तरप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । “निर्माण कार्यलाई गुणस्तरीय, दिगो तथा पारदर्शी बनाउन निरन्तर अनुगमन गरिरहेका छौं,“ विज्ञप्तिमा भनिएको छ, “नागरिकबाट प्राप्त सुझाब तथा गुनासोलाई गम्भीरतापूर्वक लिई आवश्यक निर्णय तथा कारवाही गर्नेछौं ।“
नेपालटार–उदयपुरगढी दरबार सडक ८ किलोमिटर दुरीको रहेको छ भने यो सडक गाउँपालिकाको महत्वपूर्ण सडक योजनामध्ये एक हो ।











प्रतिक्रिया