काठमाडौं ।
सरकारले नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने कथावस्तु भएका फिल्मलाई नेपालमा प्रदर्शन अनुमति नदिने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले फिल्म विकास बोर्डलाई पत्राचार गर्दै यस्ता फिल्मलाई केन्द्रीय फिल्म जाँच समितिबाट प्रदर्शन अनुमति नदिन निर्देशन दिएको हो ।
मन्त्रालयले फिल्म निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) को स्मरण गराउँदै उक्त व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। सो दफाअनुसार नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था वा मित्रराष्ट्रसँगको सु–सम्बन्धमा प्रतिकूल असर पार्ने देखिएमा त्यस्ता फिल्मलाई प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था छ।
मन्त्रालयले जाँचका लागि प्राप्त हुने फिल्ममा उक्त कानुनी व्यवस्था अनिवार्य रूपमा लागू गर्न तथा यसबारे निर्माता, वितरक र अन्य सरोकारवालालाई समेत जानकारी गराउन फिल्म विकास बोर्डलाई निर्देशन दिएको छ।
यो निर्णय हालै भारतीय अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘अल्फा’लाई लिएर उत्पन्न विवादपछि आएको हो। उक्त फिल्मको प्रदर्शन अनुमतिबारे विवाद भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले हस्तक्षेप गरेका थिए। त्यसपछि फिल्म जाँच समितिले फिल्म प्रदर्शनका लागि अनुमति दिएको थियो।
सरकारको पछिल्लो निर्णयले विशेषगरी नेपालमा प्रदर्शन हुने विदेशी, विशेषतः भारतीय फिल्ममा प्रभाव पर्ने अनुमान गरिएको छ। पछिल्ला वर्षहरूमा नेपालमा प्रदर्शन भएका धेरै भारतीय फिल्ममा पाकिस्तानविरोधी कथावस्तु समावेश हुने गरेका छन्। यसअघि यस्ता फिल्मलाई केन्द्रीय फिल्म जाँच समितिले प्रदर्शन अनुमति दिँदै आएको थियो।
यस्तै विषयवस्तु भएका केही भारतीय फिल्मलाई भने मध्यपूर्वका केही मुलुकहरूले प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए। सरकारको नयाँ निर्देशनसँगै अब नेपालको सुरक्षा, सार्वजनिक व्यवस्था वा मित्रराष्ट्रसँगको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने ठहरिएका फिल्मले नेपालमा प्रदर्शन अनुमति नपाउने भएका











प्रतिक्रिया