काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेपाल आगमनलाई भव्य र सुखद् बनाउन उहाँनिकट नेता तथा कार्यकर्ता सक्रिय भएका छन् । देउवाको स्वागतका लागि ठूलो सङ्ख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित गराउने तयारी भइरहेको कांग्रेसका नेताहरूले बताएका छन् ।
यसअघि यही साउन २६ गते राति ९ः४५ बजे नेपाल आउने पूर्वकार्यतालिका रहे पनि नेता तथा कार्यकर्ताको आग्रहपछि देउवाको नेपाल आगमनको समय नै परिवर्तन गरिएको छ । अब देउवा साउन २८ गते दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम तय भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । महतका अनुसार पार्टीका नेता तथा कार्यकर्ताको आग्रहलाई ध्यानमा राख्दै देउवाको नेपाल आगमनलाई भव्य बनाउन समय परिवर्तन गरिएको हो ।
उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै पार्टी सभापतिको नेपाल आगमनलाई सुखद् र व्यवस्थित बनाउन नेता तथा कार्यकर्ताको अनुरोधअनुसार कार्यक्रमको समय परिवर्तन गरिएको बताउनुभयो ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि पार्टी स्पष्ट रूपमा दुई धारमा विभाजित भएको देखिएको छ । एउटा धारको नेतृत्व पार्टी सभापति गगन थापाले गरिरहनुभएको छ भने अर्को धारको नेतृत्व पूर्वप्रधानमन्त्री देउवाले गरिरहनुभएको छ । विशेष महाधिवेशनपछि पार्टीको आन्तरिक शक्ति सन्तुलनमा समेत परिवर्तन आएको छ । कांग्रेसभित्रको विवाद केवल नेतृत्वको विषयमा मात्र सीमित नरही पार्टी सञ्चालनको शैली, आगामी राजनीतिक रणनीति र संगठनमा कसको प्रभाव रहने भन्ने विषयमा समेत केन्द्रित हुँदै गएको छ । यस्तो अवस्थामा देउवाको नेपाल आगमनलाई उहाँका समर्थकहरूले विशेष महत्व दिएका छन् ।
लामो समयपछि स्वदेश फर्किन लाग्नुभएका देउवाको स्वागतमा देखाइने उपस्थिति र गतिविधिले कांग्रेसभित्र उहाँको राजनीतिक प्रभाव कति कायम छ भन्ने सङ्केत दिने नेताहरूको बुझाइ छ । गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको कुटाइबाट देउवा घाइते हुनुभएको थियो । त्यसपछि स्वास्थ्य उपचारका लागि उहाँ गत चैतमा सिंगापुर जानुभएको थियो । सिंगापुरमा उपचार गरेपछि केही समय हङकङमा बस्नुभएका देउवा केही दिनअघि मात्रै थाइल्याण्डको बैंकक पुग्नुभएको हो । पत्नी आरजु राणा देउवासहित उहाँ बैंककमा रहनुभएको छ । उपचारपछि स्वास्थ्य अवस्थाका कारण लामो समय विदेशमा रहनुभएका देउवा अब स्वदेश फर्किएसँगै सक्रिय राजनीतिक गतिविधिमा फर्कने तयारीमा रहेको उहाँनिकट नेताहरूको भनाइ छ ।
देउवा नेपाल फर्किएपछि कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था थप तात्ने अनुमान गरिएको छ । विशेष महाधिवेशनपछि उत्पन्न विवाद, पार्टीभित्रको शक्ति संघर्ष र सर्वोच्च अदालतको पछिल्लो निर्णयले कांग्रेसभित्रका दुवै पक्षलाई आ–आफ्नो रणनीति बनाउन बाध्य बनाएको छ । देउवा नेपाल फर्किएपछि उहाँलाई पक्राउ गर्ने योजना छ कि छैन भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
यस विषयमा प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेसँग सम्पर्क गर्दा उहाँले अहिलेसम्म पूर्वप्रधानमन्त्री देउवालाई पक्राउ गर्न कुनै आदेश प्राप्त नभएको जानकारी दिनुभयो । काफ्लेका अनुसार देउवालाई पक्राउ गर्ने विषयमा प्रहरीलाई अहिलेसम्म कुनै औपचारिक निर्देशन आएको छैन । उहाँले समय र परिस्थितिअनुसार प्रहरीले आवश्यक कदम चाल्ने बताउनुभयो । ‘हामीलाई अहिलेसम्म पूर्वप्रधानमन्त्रीज्यूलाई पक्राउ गर्न आदेश आएको छैन’ –उहाँले भन्नुभयो ।
देउवा स्वदेश फर्किने कार्यक्रम सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उहाँको सम्भावित राजनीतिक गतिविधि र कानुनी अवस्थाबारे विभिन्न चर्चा भइरहेका छन् । तर प्रहरीका तर्फबाट भने हालसम्म पक्राउसम्बन्धी कुनै निर्णय वा निर्देशन नभएको स्पष्ट पारिएको छ । पार्टीभित्रको विवादका बीच सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि देउवा पक्ष थप उत्साहित देखिएको छ । अदालतको निर्णयलाई आ–आफ्नै ढङ्गले व्याख्या गर्दै कांग्रेसका दुवै पक्षले आफ्नो राजनीतिक अवस्थालाई बलियो देखाउने प्रयास गरिरहेका छन् । देउवा स्वदेश फर्किएपछि पार्टीभित्रको विवाद थप सतहमा आउने सम्भावना पनि उत्तिकै छ । विशेष महाधिवेशनपछि संस्थापन र अर्को धारबीच देखिएको दूरी कम हुनेभन्दा पनि शक्ति संघर्ष अझ बढ्न सक्ने कांग्रेसकै कतिपय नेताहरूको बुझाइ छ ।
लामो समयपछि स्वदेश फर्किन लाग्नुभएकाले उहाँको पहिलो राजनीतिक भेटघाट, नेता तथा कार्यकर्तासँगको छलफल र पार्टीभित्रको भावी रणनीतिलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ । अबको कांग्रेस कस्तो होला ? देउवाको नेपाल आगमनसँगै नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा कस्तो हुने ? भन्ने प्रश्न पनि महत्वपूर्ण बनेको छ । पार्टीभित्र दुई धार स्पष्ट देखिइरहेका बेला देउवाले आफ्नो पक्षलाई कसरी व्यवस्थापन गर्नुहुन्छ र सभापति गगन थापा पक्षसँगको सम्बन्ध कसरी अघि बढ्छ भन्ने विषयले कांग्रेसको भावी राजनीति निर्धारण गर्नेछ । लामो समयदेखि कांग्रेसको नेतृत्वमा प्रभावशाली भूमिका निर्वाह गर्दै आउनुभएका देउवा स्वदेश फर्किएपछि सक्रिय राजनीतिमा कति प्रभावकारी ढङ्गले फर्किनुहुन्छ भन्ने पनि चासोको विषय बनेको छ ।
यसैबीच उहाँका निकट नेता तथा कार्यकर्ताहरूले भने देउवाको स्वागतलाई भव्य बनाउने तयारी गरिरहेका छन् । विमानस्थलमा हुने उपस्थितिलाई समेत पार्टीभित्रको शक्ति सन्तुलन र जनसमर्थनको सङ्केतका रूपमा हेरिएको छ । अब देउवा नेपाल फर्किएपछि कांग्रेसभित्रको विवाद कुन दिशामा अघि बढ्छ, दुई धारबीच संवाद र सहमतिको वातावरण बन्छ वा शक्ति संघर्ष थप चर्किन्छ भन्ने विषयले नेपाली कांग्रेसको मात्र नभई समग्र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने देखिन्छ । देउवाको आगमनसँगै कांग्रेसभित्रको राजनीतिक गतिविधि बढ्ने र पार्टीको आगामी रणनीतिबारे नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया