मिथोलोजिकलमा दुर्गा


निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म दुर्गा निर्माणको घोषणा गरेका छन्। थिम पोस्टर सार्वजनिक गर्दै उनले आप्mनो नया निर्देशनमा बन्ने मिथोलोजिकल कथावस्तुको फिल्मबारे जानकारी गराएका हुन्।

सार्वजनिक पोस्टरमा दुर्गा मन्दिरअगाडि रातो पहिरनमा एक युवती एक्लै उभिएकी देखिन्छिन्। मन्दिरको प्रवेशद्वारमा त्रिशूलसमेत देखाइएकाले पोस्टरले फिल्मको कथावस्तुबारे उत्सुकता बढाएको छ। फिल्मको नाम र पोस्टरमा प्रयोग गरिएका प्रतीकले मुख्य पात्र दुर्गा रहने तथा कथामा धार्मिक र रहस्यमय पक्ष जोडिएको संकेत गरेको छ।

निर्माण टिमले फिल्मको कथा वा मुख्य पात्रबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। कलाकार र प्राविधिक टिम पनि हाल गोप्य खुलाइएको छैन। उनका अनुसार दुर्गा मिथोलोजिकल विधामा निर्माण हुनेछ।

कुस्मण्डा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्मको कथा निश्चल ढुंगानाले लेखेका छन्। फिल्मको छायांकन ९० दिनसम्म चल्नेछ भने काठमाडौं, पोखरा र चितवनमा खिचिने निर्माण टिमले जनाएको छ। छायाँकन असोजको पहिलो साताबाट सुरु गर्ने तयारी छ।
उनी निर्देशित पछिल्लो फिल्म लाखे केही समयअघि युट्युबमार्फत सार्वजनिक भएको थियो।