–खराब मौसमले हेलिकोप्टर उड्न सकेन
–मौसम खुलेपछि एक घण्टामै शव सङ्कलन गर्ने तयारी
दोलखा ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालको आधार शिविरमा गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव देखिए पनि खराब मौसमका कारण शव सङ्कलनमा समस्या भएको छ ।
ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाका अनुसार यलुङ–री हिमालमा देखिएका ती शव गत वर्ष आरोहणका क्रममा हिमपहिरोमा परेका ५ जनाको हो । शव सङ्कलनका लागि शुक्रवारदेखि हेलिकोप्टर पठाउने प्रयास गरिए पनि खराब मौसमका कारण सम्भव नभएको उहाँले बताउनुभयो ।
‘शुक्रवार सम्भव नभएपछि हेलिकोप्टर गोंगरमा राखिएको थियो,’ उहाँले भन्नुभयो– ‘शनिवार बिहानैदेखि पुनः त्यस क्षेत्रमा पठाउन खोजिएको भए पनि मौसममा सुधार नभएपछि गौरीशङ्कर गाउँपालिका–९ को क्याल्चेमा हेलिकोप्टर राखिएको छ ।’ मौसम सुधारको प्रतीक्षामा आफू र टोलीका सदस्यहरू हेलिकोप्टरसहित क्याल्चेमा रहेको बताउँदै उहाँले आइतवार मौसम सुधार हुनासाथ एक घण्टाभित्रै शव सङ्कलन गरेर फर्कन सक्ने बताउनुभयो ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले पनि यलुङ–री हिमालको आधार शिविरमा ५ वटा शव देखिएको जानकारी आएको तर खराब मौसमका कारण ती शव ल्याउन शुक्रवारदेखि गरिएको प्रयत्न सफल हुन नसकेको बताउनुभयो ।
यलुङ–री आधार शिविरमा देखिएका ५ वटा शव गत वर्षको कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएकाहरूको भएको र ती शव सङ्कलनका लागि वडाले पनि आवश्यक सहयोग र समन्वय गरिरहेको वडा नम्बर–९ का वडाध्यक्ष ङिमा गेली शेर्पाले बताउनुभयो ।
गत वर्ष यलुङ–री हिमाल आरोहणका क्रममा सात जना हिमपहिरोमा परी बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव त्यतिबेलै भेटिएको भए पनि ५ जनाको शव भने नभेटिएको ड्रिम डेक्सटिनेसनका तर्फबाट खोजीमा सहभागी टोलीले बताएको थियो । लगातारको हिमपातका कारण त्यतिबेला खोजीकार्य स्थगित गरिएको थियो । यलुङ–री आधार शिविरमा हिउँ पग्लिँदै गएपछि हिमपहिरोमा पुरिएका ५ वटा शव देखिएका हुन् ।
गत वर्षको कात्तिक ११ गते विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणका लागि रोल्वालिङ क्षेत्रमा रहेको ५ हजार ६ सय ३० मिटरको यलुङ–री हिमालतर्फ गएका थिए । उनीहरू कात्तिक १७ गते हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार भएको थियो । हिमपहिरोमा परेका दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको त्यतिबेलै शव भेटिएको थियो ।
हिमपहिरोमा फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे, इटलीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो पुरिएर बेपत्ता भएका थिए ।











प्रतिक्रिया