महाराजधिराज बन्न पुष्पको सिक्स प्याक


फिल्म महाराजधिराजका मुख्य कलाकार पुष्प खड्काले फिल्मका लागि गरेको कठोर मेहनत झल्किने सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गरिएको छ। फिल्मका प्रस्तुतकर्ता विराज विष्टले पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले महाराजधिराजकै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन्।

विराजले महाराजधिराज प्रदर्शनपछि पुष्पले नेपाली सिनेमा उद्योगमा १५ वर्ष फर्केर हेर्नु नपर्ने अवस्थासमेत आउने दाबी गरेका छन्। ‘महाराजधिराजको प्रदर्शनपछि साँच्चिकै पीके (पुष्प) ले नेपाली फिल्म उद्योगमा १५ वर्ष फर्केर हेर्नुपर्ने अवस्था आउँदैन’ विराजको भनाइ छ। पुष्प महाराजधिराजमा अनुबन्ध हुने कागजी सम्झौता गर्दासमेत चर्चामा आएका थिए। फिल्मको हाल काठमाडौँका विभिन्न स्थानमा छायाँकन भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको फिल्मको छायाँकन सेड्युल ७० दिनको छ।

परिच्छेद सेनले निर्देशन गरिरहेको महाराजधिराजलाई नवराज थापाले खिचिरहेका छन्। निर्देशक सेनका अनुसार महाराजधिराज सोसल पिरयड ड्रामा हो। आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, गजित विष्ट, हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा, कमल गाउँले, शिशिर भण्डारी, शिवु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत ८० जना कलाकारले अभिनय गर्नेछन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा रवि खड्का र टोपेन्द्र विष्टद्वारा निर्माणाधीन फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ।