विश्वकप २०२६ नर्वेको ऐतिहासिक उपलब्धि


लन्डन, (एजेन्सी)

नर्वेले चौथोपटकको विश्वकप सहभागितामा क्वार्टरफाइनलसम्म यात्रा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यसअघिका तीन विश्वकपमा नर्वेले दुईमा अन्तिम १६ (१९३८ र १९९८) र एकमा समूह चरण (१९९४) सम्मको यात्रा गरेको थियो ।

उत्तर अमेरिकामा जारी विश्वकपमा नर्वेले निकै राम्रो प्रदर्शन गर्दै सबैलाई आश्चर्यचकित बनाएको थियो । यस विश्वकपमा नर्वेले समूह चरणमा इराक र सेनेगललाई पराजित गर्दा फ्रान्ससँग भने ४–१ को हार बेहोरेको थियो । तर, अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले माथ दिएर नर्वे कमजोर नभएको प्रमाणित ग¥यो ।

नर्वेले क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को अग्रता लिइसकेको थियो । नर्वे सेमिफाइनलमा पुग्ने अग्रसरमा थियो । तर, ५५ औं मिनेटमा कर्नर प्रहारमा भएको गोल फाउल भएको भन्दै अमान्य घोषित गरिएको थियो । पछि यो खेल इंग्ल्यान्डले २–१ ले जित्दा नर्वेको विश्वकप यात्रा अन्तिम ८ मै समाप्त भयो ।
२८ वर्षपछि विश्वकप खेलेको नर्वे पराजित भएपछि टोलीका कोच स्टेल सोलबाकेनले भावुक हुँदैं आँसु झारेका थिए । उनले आफ्ना खेलाडीहरूले राम्रो खेलेको र भविष्यमा यो टोली अझ निखारेर आउने वाचा पनि गरे ।

टोलीलाई यहाँसम्म पु¥याउनुमा अर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको महत्वपूर्ण भूमिका रहेको छ । हालान्डले अन्तिम १६ को खेलसम्ममा आफ्नो राष्ट्रिय टोलीका लागि ७ गोल गरेका थिए । उनले क्वार्टरफाइनलमा भने गोलसंख्या बढाउन सकेनन् ।

हरेक खेलमा जित हुँदा हालान्डको गोल नै निर्णायक बनेको थियो । उनलाई विश्राम दिइएको फ्रान्सविरुद्धको खेलमा नर्वे पराजित भएको थियो । क्वार्टरफाइनलमा पनि उनले गोल गर्न नसक्दा इंग्ल्यान्डसँग हार्नु प¥यो । यसले स्पष्ट पारेको छ कि उनी नर्वेका मुख्य स्ट्राइकर हुन् ।

नर्वेको फुटबल टोली यहाँसम्म पुग्न नर्वे फुटबल महासंघ (एनएफएफ) को कडा मेहनतको फल पनि हो । एनएफएफले पछिल्लो दुई दशकदेखि फुटबलको विकास गर्न एक पाठ्यक्रम तयार पारेर तयारी गरेको थियो । यो पाठ्यक्रममा फुटबल खेल्ने शैलीको मात्रै उल्लेख नगरी कुन चरणमा कुन चीजमा ध्यान दिने पनि उल्लेख गरिएको छ ।

६ र ७ वर्षका बच्चाहरू थ्री ए साइड (३–३ खेलाडीको टोली) म्याच खेल्दछन् । त्यसले बच्चाहरूको अधिक समय बलसँग खेल्न मौका प्राप्त हुन्छ । यसैगरी ८ र ९ वर्षका बच्चाहरू फाइभ ए साइड (५–५ जना खेलाडीको टोली) खेलतिर अघि बढ्छन् । यसमा पासिङमा बढी जोड दिइएको हुन्छ ।

यूईएफएको तथ्यअनुसार २०११ देखि अहिलेसम्म १७ हजारभन्दा बढी कोचले नर्वेको पूरा ग्रासरुट कोचिङ कार्यक्रम पूरा गरिसके । लगभग २ हजार कोचले यूईएफए बी डिप्लोमा पनि पूरा गरिसके ।

नर्वेमा यो १२ देखि १६ वर्षको खेलाडीहरूका लागि राष्ट्रिय टोली स्कूल पनि रहेको छ । यो १८ जिल्लामा फैलिएको छ र १८ सय क्लबहरूबाट खेलाडी प्राप्त गर्छ । हरेक क्लबले स्तर नाप्दै प्रतिभावान खेलाडीको मनोनयन गर्छ ।

हालको नर्वेली टोलीमा यही प्रणालीबाट आएका प्रतिभावान खेलाडीहरू सम्मिलित छन् । यो प्रक्रियाले रक्षात्मक रूपमा बलियो बनाउनुका साटो विपक्षीको रक्षा तोड्ने खेलाडीमा बढी ध्यान दिइएको छ । त्यसैले २८ वर्षअघिको टोलीभन्दा अहिलेको टोलीले इतिहास रच्न सफल भएको हो ।