खन्चुवा जेनजी पुस्ता महिनामा औसत ८१ पटक खान्छन् स्न्याक्स


काठमाडौं ।

एउटा नयाँ युरोपेली सर्वेक्षणले युवापुस्ताको खानपान शैलीमा ठूलो परिवर्तन आएको देखाएको छ। विशेषगरी जेनजी पुस्ताले परम्परागत बिहान, दिउँसो र बेलुकाको खाना छाडेर स्न्याक्स (हल्का खानेकुरा) मा बढी निर्भर हुन थालेको अध्ययनले देखाएको हो।

युरोपियन मशरुम्सको पहलमा गरिएको र समाचार संस्था एसडब्लुएनएसले सार्वजनिक गरेको सर्वेक्षणमा दुई हजार वयस्क सहभागी थिए। अध्ययनअनुसार जेनजीसमूहका सहभागीले महिनामा औसत ८१ पटक स्न्याक्स खाने गरेको पाइएको छ। यो संख्या बेबी बुमर पुस्ताको तुलनामा झन्डै दोब्बर हो। बेबी बुमर समूहका मानिसहरूले भने महिनामा औसत ४५ पटक मात्रै स्न्याक्स खाने गरेका छन्।

विज्ञहरूका अनुसार यो प्रवृत्तिले युवापुस्ताले परम्परागत भोजनको सट्टा छिटो, सजिलो र तयारी अवस्थामा पाइने खानेकुरालाई प्राथमिकता दिन थालेको संकेत गर्छ।

सर्वेक्षणमा सहभागीमध्ये १० जनामध्ये ८ जनाले हरेक साता चिप्स, बिस्कुट, कुकीज, चकलेटजस्ता अस्वस्थकर स्न्याक्स खाने गरेको बताएका छन्। यस्ता खानेकुरा खाएपछि धेरैले शरीर सुस्त हुने, पेट फुल्ने र थकान महसुस गर्ने बताएका छन्।

नकारात्मक असर अनुभव गर्नेहरूमध्ये ९१ प्रतिशतले स्न्याक्स खाएपछि अचानक ऊर्जा घट्ने (इनर्जी क्र्यास) समस्या भएको बताएका छन्। अध्ययनअनुसार अधिकांशमा यो समस्या दिउँसो करिब ३ बजेर ६ मिनेटतिर देखिने गरेको छ। थकान, दिक्क लाग्नु र ऊर्जा कम हुनु नै फेरि स्न्याक्स खाने मुख्य कारण रहेको सर्वेक्षणले देखाएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित खाद्य नीति विज्ञ तथा लेखक डारिन डेटवाइलरका अनुसार अहिलेको खानपान शैलीले मानिसहरूले भोजन गर्ने तरिका नै परिवर्तन भएको देखाउँछ।

उनका अनुसार अहिले धेरै युवाले बिहान, दिउँसो र बेलुकाको नियमित खानाभन्दा प्रोटिन बार, स्मुदी, फ्रोजन फुड र प्याकेटबन्द खानेकुरालाई नै भोजनको विकल्पका रूपमा प्रयोग गर्न थालेका छन्।

मुख्य प्रश्न जेन–जेडले धेरै स्न्याक्स खान्छन् कि भन्ने होइन, उनले भने, ती स्न्याक्सले शरीरलाई आवश्यक पोषण दिइरहेका छन् कि पोषणयुक्त खानाको स्थान लिइरहेका छन् भन्ने हो।

उनका अनुसार व्यस्त जीवनशैली, सीमित बजेट र छिटो खान मिल्ने खानेकुराको सहज उपलब्धताले पनि युवापुस्तालाई स्न्याक्सतर्फ आकर्षित गरेको हो।

सर्वेक्षणले ४१ प्रतिशत जेनजीसहभागीले पूर्ण भोजनभन्दा स्न्याक्स खान रुचाउने बताएका छन्। सबै उमेर समूहमा भने यस्तो सोच राख्नेको संख्या ३१ प्रतिशत रहेको छ। त्यस्तै, एक तिहाइभन्दा बढी सहभागीले दिनभर स्न्याक्स खाने अवसरले आफूलाई उत्साहित बनाउने बताएका छन्।

यद्यपि धेरै सहभागीले आफू स्वस्थकर स्न्याक्स रोज्न चाहेको पनि बताएका छन्।

इङ्ल्यान्डकी आहारविद् क्यारी रक्सटनका अनुसार सही समयमा पोषणयुक्त स्न्याक्स खाँदा दिउँसो हुने ऊर्जा कमीबाट बच्न सकिन्छ। उनका अनुसार खाना खाएको केही घण्टापछि रगतमा चिनीको मात्रा स्वाभाविक रूपमा घट्ने भएकाले थकान, ध्यान केन्द्रित गर्न कठिनाइ र मस्तिष्क सुस्त हुने समस्या देखिन सक्छ।

बुद्धिमानीपूर्वक स्न्याक्स छनोट गर्न सके ऊर्जा सन्तुलित रहन्छ र शरीरलाई आवश्यक पोषक तत्व पनि प्राप्त हुन्छ, उनले भनिन्।उनका अनुसार स्न्याक्स खानु नै समस्या होइन, तर सही समयमा सही प्रकारका स्वस्थकर स्न्याक्स छनोट गर्नु नै स्वस्थ जीवनशैलीको महत्वपूर्ण पक्ष हो।

स्रोत : फक्स न्युज