काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह


काठमाडौँ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्लाका स–साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार देशका ३१ जिल्लामा समेत आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। नुवाकोट, ताप्लेजुङ, सङ्खुवासभा, चितवन, कास्की, मकवानपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाका स–साना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दुई दिन देशभरका स–साना नदीमा बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरेको छ।