सुकुमबासीको उचित व्यवस्थापन गर्न पोखरेलको माग


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा विस्थापित सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

फेसबुकमार्फत उनले सुकुमबासीको पीडा हृदयविदारक रहेको उल्लेख गर्दै पुनर्स्थापना नगरी बस्ती हटाउनु अमानवीय भएको बताएका छन्। सरकारले होल्डिङ सेन्टरसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।

पोखरेलले विस्थापित नागरिकको सुरक्षित आवास, गाँस–पानी र बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै सरकारलाई तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेका छन्। साथै, गणेश नेपालीजस्तै अर्को अप्रिय घटना दोहोरिन नदिन समयमै संवेदनशील ढंगले समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।