बोक्सी आरोपमा कुटपिट गर्ने दुई पक्राउ


काठमाडौं ।

सप्तरी प्रहरीले बोक्सीको आरोप लगाएर एक महिलामाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलाका ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन्।

उनीहरूले सोही ठाउँकी रेखा कुमारी मण्डललाई बोक्सीको आरोप लगाई अश्लील गालीगलौज गर्दै कुटपिट गरी घाइते बनाएको आरोप छ। घटना पछि फरार रहेका दुवै जनालाई प्रहरीले बनौलाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको छ।