लमजुङका ७७ प्रतिशत खानेपानीका स्रोत दूषित

0
Shares

लमजुङ। 

लमजुङका अधिकांश खानेपानीका मुहान तथा आयोजनाबाट वितरण भइरहेको पानी ७७ प्रतिशत दूषित भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले चालु आर्थिक वर्षमा गरेको खानेपानीको गुणस्तर परीक्षणले जिल्लाका धेरै स्थानमा इकोली (कोलिफर्म) जीवाणु फेला परेको देखाएको हो ।

कार्यालयले जिल्लाका आठ स्थानीय तहमा रहेका खानेपानी आयोजना तथा अन्य स्रोत गरी १ सय २९ स्थानबाट संकलित पानीको नमुना परीक्षण गर्दा ९८ स्थानको स्रोतको पानी दूषित भेटिएको जनाएको छ । पिउने पानीका रुपमा प्रयोग भइरहेका ८६ वटा खानेपानी आयोजनामध्ये ७० वटा अर्थात् ८१ प्रतिशत आयोजनाको पानी पिउन अयोग्य रहेको परीक्षणबाट पुष्टि भएको छ । 

बेसीशहर नगरपालिकामा परीक्षण गरिएका १७ स्रोतमध्ये दुई स्थानको पानी मात्र सुरक्षित भेटिएको छ भने बाँकी सबै स्रोतमा इकोली जीवाणु फेला परेको कार्यालयले जनाएको छ । 

सुन्दरबजार नगरपालिकाका नौ स्थानका खानेपानी आयोजनामध्ये एकबाहेक सबैमा इकोली भेटिएको छ । मध्यनेपाल नगरपालिकामा परीक्षण गरिएका आठ आयोजनामध्ये सातवटाको पानी दूषित रहेको छ भने एउटा स्रोतको पानी मात्र पिउन योग्य पाइएको छ ।

राइनास नगरपालिकामा परीक्षण गरिएका १० स्रोतमध्ये पाँचवटाको पानी दूषित भेटिएको छ । मर्स्याङदी गाउँपालिकाका १० स्रोतमध्ये आठ, दोर्दी गाउँपालिकाका ११ मध्ये आठ तथा क्होलासोँथार गाउँपालिकाका १५ मध्ये १३ स्रोतमा इकोली जीवाणु फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसै गरी दूधपोखरी गाउँपालिकामा परीक्षण गरिएका सातवटै खानेपानी स्रोत दूषित भेटिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका ल्याब अधिकृत निरोज श्रेष्ठका अनुसार पानीमा दिशापिसाबबाट फैलिने इकोली (कोलिफर्म) जीवाणु भेटिएकाले उमालेर वा उचित शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयले हरेक वर्ष गर्ने खानेपानी गुणस्तर परीक्षणमा पनि यस्तै अवस्था दोहोरिँदै आएको जनाएको छ । स्वास्थ्यकर्मीहरुले दूषित पानीका कारण झाडापखाला, टाइफाइडलगायत पानीजन्य रोगको जोखिम बढ्ने भएकाले सुरक्षित रुपमा प्रशोधन गरिएको पानी मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।