काठमाडौं
नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्झौता गरिएको हो। विद्यालयका अनुसार उक्त सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका लागि विश्वस्तरीय सिकाइ तथा अनुभव आदान–प्रदानका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।

समझदारीपत्रमा हस्ताक्षरपछि सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलको उपस्थितिमा विद्यालयको नवनिर्मित क्यान्टिनको उद्घाटन गरिएको थियो। त्यसपछि विद्यालय प्रशासन, नगरपालिकाका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीबीच आगामी शैक्षिक साझेदारी, शिक्षक तथा विद्यार्थी आदान–प्रदान र सामुदायिक विकासका सम्भावित कार्यक्रमबारे छलफल भएको थियो। कार्यक्रम नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको प्रमुख आतिथ्य तथा वडा नं. ६ का अध्यक्ष देवेन्द्रराज गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, नगर प्रवक्ता महेश रिमाल, शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवर, सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पुरी, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा. युन चो युन यी, निर्देशक योङ–सुन ओह, अनुवादक तेन्जिन नोर्बु लामा तथा समाजसेवी केशव श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत प्राविधिक शिक्षा, कला तथा स्वास्थ्यसम्बन्धी गतिविधि, खेलकुद, करियर निर्माण, कोरियाली भाषा, संस्कृति र परम्परासम्बन्धी प्रस्तुति तथा प्रशिक्षण सञ्चालन गरिएको थियो। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा ज्ञान, सीप, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने जनाएको छ। यसै क्रममा सनमुन विश्वविद्यालयले नेपालमा सञ्चालन गर्दै आएको ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रमबारे पनि जानकारी गराइएको थियो। कार्यक्रमअन्तर्गत कोरियाली भाषा तथा संस्कृति शिक्षण, कला प्रशिक्षण, विद्यार्थी–केन्द्रित शिक्षण, करियर परामर्श, खेलकुद प्रशिक्षण, स्वास्थ्य शिविर, सामुदायिक सेवा, मितेरी कार्यक्रम, वृक्षारोपण तथा सांस्कृतिक आदान–प्रदानका गतिविधि सञ्चालन गरिने जनाइएको छ।
विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त कार्यक्रमले स्थानीय समुदायका आवश्यकता पहिचान गरी समाधान खोज्ने प्रक्रियामार्फत विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व क्षमता, सेवाभाव र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। साथै बहुसांस्कृतिक आदान–प्रदानमार्फत समावेशी समाज निर्माणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

दक्षिण कोरियाबाट आएको २८ सदस्यीय विद्यार्थी तथा कर्मचारीको टोलीले नागार्जुन नगरपालिका र स्थानीय विद्यालयसँग सहकार्य गर्दै शैक्षिक सहयोग, स्वयंसेवा, नेतृत्व विकास तथा सांस्कृतिक सम्बन्ध विस्तारका विभिन्न कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको जनाइएको छ।
कार्यक्रमको अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले स्थानीय सरकार, सामुदायिक विद्यालय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार, विद्यार्थीको व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रियस्तरका शैक्षिक अवसर विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।











प्रतिक्रिया