उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत, वडहरे पातल प्रथम

188
Shares

लमजुङ।

लमजुङमा उत्कृष्ट कार्य गर्ने तीन सामुदायिक वन उपभोक्ता समूहलाई नगदसहित पुरस्कृत गरिएको छ । जिल्ला स्तरीय जडीबुटी फोकल टिम बैठक तथा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह पुरस्कार वितरण समारोहका अवसरमा शुक्रबार उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा मध्यनेपाल नगरपालिका–१ स्थित वडहरे पातल सामुदायिक वन उपभोक्ता समूह प्रथम हुँदै नगद ११ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, राइनास नगरपालिका–३ स्थित झाँत्रीथान सामुदायिक वन उपभोक्ता समूह द्वितीय हुँदै नगद ८ हजार ५ सय रुपैयाँ तथा मध्यनेपाल नगरपालिका–४ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह तृतीय हुँदै नगद ५ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

डिभिजन वन कार्यालय लमजुङको तालिम हलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमजुङका प्रमुख एवं डिभिजनल वन अधिकृत दीपकप्रसाद पण्डितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले वन तथा जडीबुटी स्रोतको संरक्षण, दिगो व्यवस्थापन र आयआर्जनसँग जोडेर उपयोग गर्न आवश्यक रहेको बताउनुभयो । समन्वय प्रमुख गुरुङले सामुदायिक वन उपभोक्ता समूहहरुले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने समूहहरुलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सोही अवसरमा जडीबुटी संरक्षण, उत्पादन, व्यवस्थापन तथा सामुदायिक वनको प्रभावकारी सञ्चालनका विषयमा जिल्ला स्तरीय जडीबुटी फोकल टिम बैठकसमेत सम्पन्न भएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ । बैठकमा जडीबुटी स्रोतको संरक्षण, दिगो उपयोग र व्यवस्थापनका विविध पक्षमा छलफल गरिएको थियो ।