एनआरएनए एनसीसी अमेरिका एकीकरणका लागि १४ बुँदे सहमति प्रस्ताव, संयुक्त रूपमा एजीएम तथा सम्मेलन गर्ने तयारी


अमेरिका।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा देखिएको विभाजन अन्त्य गर्दै संस्थागत एकता कायम गर्ने उद्देश्यले १४ बुँदे सहमति प्रस्ताव तयार गरिएको छ। प्रस्तावमा दुवै पक्षबीच आपसी सम्मान, समान सहभागिता र साझा नेतृत्वका आधारमा एकीकृत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

हालसम्म सार्वजनिक नगरिएको प्रस्तावमा दुवै एनसीसीले एकअर्काको अस्तित्व, वैधानिकता तथा सम्मानलाई पूर्ण रूपमा स्वीकार गर्ने तथा सार्वजनिक वा निजी कुनै पनि मञ्चमा एकअर्काविरुद्ध विरोधाभासपूर्ण अभिव्यक्ति, गतिविधि वा प्रचार–प्रसार नगर्ने सहमति गरिएको छ।

सहमति प्रस्तावमा दुवै पक्षका वर्तमान कार्यसमितिलाई अभिलेखीकरण गर्दै सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बाँकी कार्यकालका लागि यथावत् मान्यता प्रदान गर्ने व्यवस्था गरिएको छ। संस्थाका औपचारिक कार्यक्रम तथा कार्यसमिति बैठकहरूमा दुवै अध्यक्षले संयुक्त रूपमा वा पालैपालो अध्यक्षता गर्ने तथा एकजना मात्र उपस्थित भएमा उपस्थित अध्यक्षले बैठक सञ्चालन गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, दुवै महासचिवले संयुक्त रूपमा वा पालैपालो बैठक सञ्चालन गर्ने, प्रशासनिक तथा प्राविधिक अधिकारहरू आपसी समन्वयमा प्रयोग गर्ने तथा संस्थाको आर्थिक कारोबारका लागि हाल रहेका छुट्टाछुट्टै बैंक खातालाई एउटै खातामा एकीकृत गर्ने प्रस्ताव गरिएको छ। आर्थिक पारदर्शिता सुनिश्चित गर्न दुवै कोषाध्यक्षको संयुक्त सहभागितामा कोष सञ्चालन गर्ने र सम्भव भएसम्म संयुक्त हस्ताक्षरको व्यवस्था मिलाइने जनाइएको छ।

प्रस्तावमा विभिन्न उपसमिति, सल्लाहकार समिति, संरक्षक समिति, मानार्थ सदस्य समिति तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरूलाई यथावत् मान्यता दिने उल्लेख गरिएको छ। साथै विधान मस्यौदा समिति, निर्वाचन समिति, प्रमाणीकरण समिति, सदस्यता विस्तार समिति लगायतका नयाँ समितिहरू समान सहभागिताका आधारमा गठन गरिने र तत्काल आवश्यक विधान मस्यौदा समितिको नेतृत्व दुवै महासचिवले संयुक्त रूपमा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सहमतिका सबै बुँदामा अन्तिम सहमति भएपछि दुवै पक्षका अध्यक्षहरूले संयुक्त रूपमा एकता सम्झौतामा हस्ताक्षर गर्ने, त्यसपछि संयुक्त कार्यसमितिको बैठकबाट सहमतिलाई अनुमोदन गरिने तथा संस्थागत वैधानिकताका लागि साधारणसभामार्फत विधान संशोधन प्रक्रिया अघि बढाइने उल्लेख छ।

प्रस्तावमा आगामी जुलाई १८ र १९ मा अस्टिन, टेक्सासमा आयोजना हुने वार्षिक साधारणसभा (एजीएम) तथा ज्ञान सम्मेलनलाई संयुक्त रूपमा भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। त्यसका लागि आवश्यक कार्यविधि दुवै पक्षबीचको छलफलबाट समान सहभागिताका आधारमा तय गरिने जनाइएको छ।

यसैगरी, एकीकरणपछि आवश्यक परेमा दुवै अध्यक्षको अधिकारको सम्मान गर्दै वार्ता टोलीका सदस्यहरूले सहजीकरण गर्ने तथा सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि कुनै पनि कार्यसमिति सदस्यले सहमतिको अवज्ञा, उल्लङ्घन वा कार्यान्वयनमा अवरोध सिर्जना गरेमा संयुक्त कार्यसमितिको निर्णयअनुसार त्यस्तो सदस्यको पद स्वतः खारेज हुने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ।

प्रस्तावित सहमति कार्यान्वयनमा आएमा लामो समयदेखि देखिएको विभाजन अन्त्य भई एनआरएनए एनसीसी अमेरिका साझा नेतृत्व र समान सहभागिताका आधारमा एकीकृत ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको छ।