असार अन्त्यतिर मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट खर्च

752
Shares

रौतहट ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च गरेको छ। आर्थिक वर्षको अन्तिम चरणमा खर्च कार्यान्वयनले तीव्रता पाएपछि प्रदेश सरकारको खर्च उल्लेख्य रूपमा बढेको हो।
प्रदेश सरकारका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित रु. ४६ अर्ब ९८ करोड बजेटमध्ये असार २६ गतेसम्म रु. २६ अर्ब ४६ करोड खर्च भएको छ।

चालु खर्चतर्फ विनियोजित रु. १५ अर्ब ६४ करोड मध्ये रु. ९ अर्ब ४९ करोड (६०.६९ प्रतिशत) खर्च भएको छ भने पूँजीगत खर्चतर्फ विनियोजित रु. ३१ अर्ब ३४ करोड मध्ये रु. १६ अर्ब ९७ करोड (५४.१२ प्रतिशत) खर्च भएको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ।
तथ्यांकअनुसार जेठ १३ गतेसम्म कुल खर्च रु. ८ अर्ब ७६ करोड (१८.६४ प्रतिशत) मात्र रहेकोमा असार २६ गतेसम्म आइपुग्दा खर्च बढेर रु. २६ अर्ब ४६ करोड (५६.३१ प्रतिशत) पुगेको छ। यसले आर्थिक वर्षको अन्त्यतिर विकास आयोजना तथा अन्य कार्यक्रमको भुक्तानी र बजेट कार्यान्वयनमा उल्लेखनीय वृद्धि भएको देखाएको छ।

यद्यपि, असार २६ गतेसम्म पनि कुल बजेटको ४३.६९ प्रतिशत रकम खर्च हुन बाँकी रहेको देखिएको छ।

Skip This