नेयमारलाई फुटबल नछोड्न उनका बुबाको आग्रह


लन्डन, (एजेन्सी)।

नेयमार जुनियरका बुबा नेयमार सिनियरले उनका छोरालाई फुटबल नछाड्न आग्रह गरेका छन् । विश्वकपबाट ब्राजिलको यात्रा समाप्त भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिने निर्णय गरेका नेयमारलाई उनका बुवाले सामाजिक सञ्जालमार्फत हौसला दिँदै लेखेका छन्, “एक बुबाका रूपमा म तिमीलाई एउटा मात्र आग्रह गर्न चाहन्छु–फुटबल नछोड । डराएर पछि नहट । फेरि मुस्कुराउँदै मैदानमा फर्क ।”
उनले नेयमारले बाल्यकालदेखि विश्व फुटबलको शिखरसम्म पुग्न गरेको संघर्षको स्मरण गर्दै अझै पनि फुटबललाई दिन सक्ने धेरै कुरा बाँकी रहेको बताएका छन् ।

“तिमीले जीवनभर आलोचना, दबाब, चोट र असंख्य कठिनाइको सामना ग¥यौ। तर हरेक चुनौतीलाई जित्दै विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक बन्न सफल भयौ। त्यसैले एउटा हार वा निराशाले तिम्रो यात्रा समाप्त भएको ठान्न हुँदैन,” उनले लेखेका छन् ।

नेयमारका बुवाले परिवारले सधैं छोराको सपना पूरा गर्न साथ दिएको उल्लेख गर्दै अब पनि आफूहरू उस्तै साथमा रहने बताएका छन् । उनले नेयमारलाई फेरि खुसीसाथ खेल्न आग्रह गर्दै लेखेका छन्, “मुस्कुराऊ, रमाऊ र फुटबल खेलिर ह। तिम्रो कथा अझै सकिएको छैन । तिमीसँग अझै धेरै सपना पूरा गर्न बाँकी छन ्।”

विश्व फुटबलका सर्वाधिक प्रतिभाशाली खेलाडीमध्ये एक मानिने नेयमारले सन् २०२६ फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल नर्वेसँग २–१ ले पराजित भएपछि राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए । सो खेलमा नेयमारले एक गोल गरेका थिए ।

३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता खेलाडी हुन् । उनले आफ्नो करियरमा राष्ट्रिय टोलीका लागि ८० गोल गरेका छन् । विश्वकपको उपाधि जित्ने सपना भने यसपटक पनि अधुरै रह्यो ।

नेयमारको संन्यासपछि उनका बुवाको भावुक सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ । धेरै समर्थकले पनि उनलाई क्लब फुटबलमा अझै केही वर्ष खेलिरहन आग्रह गरिरहेका छन् ।