फिफा अध्यक्ष इन्फान्टिनोमाथि छानबीन गर्न माग


लन्डन, (एजेन्सी) ।

युरोपेली संसद्का दर्जनौँ सांसदहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि छानबिन सुरु गर्न समर्थन जुटाइरहेका छन् ।
अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले रातो कार्ड प्राप्त गरेपनि बेल्जियमविरुद्ध खेल्न अनुमति दिने निर्णयमा इन्फान्टिनोको संलग्नता रहन सक्ने उनीहरूको शंका रहेको छ । बालोगनलाई जुलाई १ मा बोस्निया हर्जगोभिनाविरुद्ध अमेरिकाको जितका क्रममा रातो कार्ड देखाइएको थियो ।

फुटबलको नियमअनुसार रातो कार्ड पाएका खेलाडीले अर्को खेल गुमाउने गर्दछन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ वर्षीय स्ट्राइकर बालोगनको मुद्दा लिएर सो निर्णयमा हस्तक्षेप गरेपछि फिफाले सोमबार उनको एक खेलको प्रतिबन्ध हटाएको थियो ।
युरोपेली संसद्का सांसद ब्यारी एन्ड्र्युज, लारा वोल्टर्स र निल्स फुग्लसाङले संयुक्त विज्ञप्ति जारी गर्दै फिफाको निर्णयलाई “प्रतियोगिताकै बीचमा रातो कार्ड निलम्बनसम्बन्धी नियम परिवर्तन गर्ने लज्जास्पद र न्यायको विकृति” भएको बताएका छन् ।

“फेरि एकपटक हामीले इन्फान्टिनो र फिफालाई ट्रम्प प्रशासनको मागसामु झुकेको देख्यौँ,” विज्ञप्तिमा भनिएको छ ।
सांसदहरूले ईयू सदस्य राष्ट्रका राष्ट्रिय फुटबल संघहरूलाई फिफा एथिक्स कमिटीमार्फत इन्फान्टिनोमाथि छानबिनका लागि पहल गर्न आग्रह गरेका छन् ।

उनीहरूले निलम्बन हटाउने निर्णयमा ट्रम्प प्रशासनको दबाब कारक थियो कि थिएन भन्ने विषयमा छानबिन गर्न माग गरेका छन् । साथै, ट्रम्पलाई फिफा पीस प्राइज प्रदान गर्ने निर्णयजस्ता “राजनीतिक तटस्थताका सम्भावित अन्य उल्लंघन” पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनीहरूको भनाइ छ ।

सांसदहरूका अनुसार हालसम्म ३५ जना सहकर्मी सांसदहरूले उक्त पत्रमा हस्ताक्षर गरिसकेका छन् । फिफाले भने निलम्बन हटाउने निर्णय अनुशासन समितिको भएको जनाएको छ ।