काठमाडौं ।
त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह गर्ने उदेश्यले शरिरमा पेट्टोल छर्केर आगो लगाई गम्भीर घाइते भएका थिए । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय जलनका बिरामी गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालले आज बिहान १० बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएको छ।
अस्पतालका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ र उनी बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। उनको अवस्था अस्थिर रहेकाले भारतको नयाँदिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भए पनि हाल वीर अस्पतालमै उपचार भइरहेको छ।
प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली उपचारमा खटिएको अस्पतालले जनाएको छ।
यसैबीच, गृहमन्त्री सुदन गुरुङले बिहीबार वीर अस्पताल पुगेर घाइते नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै उपचार प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक सबै सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले घाइते नेपालीको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य मन्त्रालयले पनि आवश्यक उपचार तथा व्यवस्थापनका लागि सबै तयारी पूरा गरिएको जनाएको छ।
राहदानी विभाग अगाडि भएको उक्त घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया