काठमाडौँ ।
भारतका विभिन्न राज्यमा गर्मी अत्यधिक बढेसँगै नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्न थालेको छ । खुला सीमा, तुलनात्मक रूपमा चिसो मौसम, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य र सवारी साधनसहित सहज प्रवेशको व्यवस्थाका कारण पछिल्ला
साताहरूमा भारतीय पर्यटकको आगमन तीव्र भएको हो ।
यससँगै नेपालका प्रमुख पर्यटकीय सहर र राजमार्गमा ट्राफिक व्यवस्थापन, पार्किङ, सार्वजनिक सरसफाइ तथा सुरक्षा व्यवस्थापनसम्बन्धी नयाँ चुनौतीहरू पनि देखिन थालेका छन् ।
गृह मन्त्रालय र पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरूका अनुसार विशेष गरी वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, काँकडभिट्टा र महेन्द्रनगर नाकाबाट दैनिक ठूलो सङ्ख्यामा भारतीय नम्बर प्लेटका साना तथा ठूला सवारीसाधन नेपाल प्रवेश गरिरहेका छन् । तीमध्ये अधिकांश पर्यटक पोखरा, बन्दीपुर, मनकामना, मुक्तिनाथ, जनकपुर, लुम्बिनी तथा माथिल्लो मुस्ताङसम्म पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा समेत भारतीय पर्यटक बोकेका निजी कार, जीप र बसको सङ्ख्या दिनप्रतिदिन बढिरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेका अनुसार गर्मीयाममा भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्ने गरे पनि यस वर्ष वृद्धि तुलनात्मक रूपमा अझै उल्लेखनीय देखिएको छ । उहाँले भन्नुभयो–‘नेपाल भारतीय पर्यटकका लागि सहज, नजिक र मौसमका हिसाबले आकर्षक गन्तव्य हो । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई लक्षित गरेर धेरै भारतीय परिवार आफ्नै सवारीसाधनमा नेपाल भ्रमणमा आउने गरेका छन्। यसले पर्यटन व्यवसायलाई सकारात्मक ऊर्जा दिएको छ ।’
तर, पर्यटकको चाप बढेसँगै व्यवस्थापनका चुनौती पनि थपिएका छन् । विशेष गरी नेपालको ट्राफिक नियमबारे जानकारी नहुँदा कतिपय भारतीय चालकहरू अनावश्यक रूपमा कारबाहीमा पर्ने गरेका छन् । गलत लेन प्रयोग गर्ने, जथाभावी पार्किङ गर्ने, निषेधित क्षेत्रमा सवारी रोक्ने तथा ट्राफिक सङ्केतको बेवास्ता गर्ने घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ ।
यस विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले विदेशी पर्यटकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउनु प्रहरीको दायित्व भए पनि नेपाल प्रवेश गर्ने सबैले नेपालको कानुन पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘भारतसहित जुनसुकै देशबाट नेपाल आउने पर्यटकले यहाँको कानुन र ट्राफिक नियमको पालना गर्नुपर्छ । सीमा नाकाहरू तथा प्रमुख पर्यटकीय मार्गमा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नियमको जानकारी गराउने, आवश्यक सहजीकरण गर्ने र सुरक्षित यात्राका लागि सहयोग गर्ने काम निरन्तर भइरहेको छ । सुरक्षा व्यवस्थालाई पनि थप प्रभावकारी बनाइएको छ ।’
प्रहरीका अनुसार सीमा नाकाबाट प्रवेश गर्ने विदेशी नम्बर प्लेटका सवारीसाधनलाई आवश्यक जानकारी दिने, ट्राफिक नियमसम्बन्धी पर्चा वितरण गर्ने तथा संवेदनशील स्थानमा विशेष निगरानी बढाउने कार्य भइरहेको छ ।
पोखरा र मुक्तिनाथ क्षेत्रमा व्यवस्थापनको दबाब
पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको सबैभन्दा बढी आकर्षण पोखरा र मुक्तिनाथ क्षेत्रमा देखिएको छ । होटल व्यवसायीहरूले यसलाई पर्यटन व्यवसायका लागि सकारात्मक अवसर मानेका छन् । तर स्थानीय तहका प्रतिनिधि भने सार्वजनिक शौचालयको अभाव, अव्यवस्थित पार्किङ तथा सरसफाइमा देखिएको समस्या समाधान गर्न थप स्रोत आवश्यक परेको बताउँछन् ।
पोखरा महानगरपालिका–६ का स्थानीय व्यवसायी रामकृष्ण अधिकारी भन्नुहुन्छ–‘पर्यटक बढ्नु राम्रो कुरा हो । तर कतिपयले सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने, खुला स्थानमा शौच गर्ने र सडक छेउमै सवारी पार्किङ गर्ने प्रवृत्ति देखिएको छ । यसलाई व्यवस्थापन गर्न स्थानीय प्रशासन र पर्यटक दुवै जिम्मेवार हुनुपर्छ ।’
सुरक्षा चुनौती पनि बढ्दै
सुरक्षा विज्ञहरूका अनुसार खुला सीमा नेपालको विशेषता भए पनि त्यसको प्रभावकारी व्यवस्थापन आवश्यक छ । भारतीय पर्यटकको बढ्दो आगमनसँगै सीमा क्षेत्रमा निगरानी,सवारी अभिलेखीकरण र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले भन्नुभयो–‘पर्यटनलाई सहज बनाउनु आवश्यक छ । तर त्यससँगै सीमा व्यवस्थापन पनि आधुनिक बनाउनुपर्छ । नेपाल प्रवेश गर्ने प्रत्येक सवारीसाधन र यात्रुको डिजिटल अभिलेख व्यवस्थित भयो भने सुरक्षा जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।’
उहाँका अनुसार खुला सीमाको दुरुपयोग गरी आपराधिक गतिविधिमा संलग्न व्यक्ति एक देशबाट अर्को देशमा भाग्ने जोखिमलाई नकार्न सकिँदैन । त्यसैले नेपाल र भारतका सुरक्षा निकायबीच सूचना आदानप्रदान अझ प्रभावकारी हुनुपर्ने आवश्यकता छ ।
नेपाल भ्रमणमा आएका कतिपय भारतीय पर्यटकले नेपालका ट्राफिक तथा प्रशासनिक नियमबारे पर्याप्त जानकारी नहुँदा समस्या भोग्नुपरेको बताएका छन् ।
उत्तर प्रदेशबाट परिवारसहित पोखरा आएका पर्यटक सञ्जय मिश्राले भन्नुभयो–‘नेपाल आउन सजिलो छ । तर यहाँका ट्राफिक नियम र पार्किङ व्यवस्था भारतभन्दा फरक रहेछ । सीमा नाकामै छोटो जानकारी पुस्तिका वा डिजिटल सूचना उपलब्ध गराइयो भने धेरै सहज हुने थियो ।’
असमान व्यवस्था रहेको गुनासो
सीमापार सवारी सञ्चालनसम्बन्धी व्यवस्थालाई लिएर नेपाली व्यवसायीहरूले भने समान व्यवहार हुनुपर्ने माग उठाउँदै आएका छन् ।
हाल भारतीय नम्बर प्लेटका सवारी साधनले आवश्यक भन्सार प्रक्रिया पूरा गरी दैनिक शुल्क तिरेर नेपाल प्रवेश गर्न सक्ने व्यवस्था छ । तर नेपाली नम्बर प्लेटका निजी सवारीसाधन भारत लैजान विभिन्न प्रशासनिक प्रक्रिया, रुट परमिट तथा अन्य औपचारिकता पूरा गर्नुपर्ने अवस्था रहेको भन्दै सरोकारवालाले दुई देशबीच थप सहजीकरण आवश्यक रहेको बताएका छन् ।
पर्यटनविद्हरूका अनुसार भारतीय पर्यटक नेपालको पर्यटन उद्योगका लागि सबैभन्दा ठूलो बजार हुन् । त्यसैले उनीहरूलाई स्वागत गर्नु आवश्यक भए पनि त्यस अनुसारको पूर्वाधार,ट्राफिक व्यवस्थापन, पार्किङ, सार्वजनिक शौचालय, सरसफाइ र सुरक्षा प्रणालीलाई पनि समानान्तर रूपमा सुदृढ बनाइनुपर्छ ।
उनीहरूका अनुसार सीमा नाकामै बहुभाषिक सूचना केन्द्र स्थापना गर्ने, ट्राफिक नियमसम्बन्धी डिजिटल सामग्री उपलब्ध गराउने, पर्यटकीय मार्गमा पार्किङ व्यवस्थापन सुधार गर्ने तथा नेपाल–भारत सुरक्षा संयन्त्रबीच नियमित समन्वय बढाउने हो भने अहिले देखिएका अधिकांश समस्या समाधान गर्न सकिन्छ ।
भारतीय पर्यटकको बढ्दो आगमनले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । तर बढ्दो चापलाई व्यवस्थित गर्न नसके पर्यटनबाट प्राप्त हुने लाभभन्दा व्यवस्थापनका समस्या ठूलो बन्न सक्ने भएकाले सम्बन्धित निकायले समयमै प्रभावकारी योजना लागू गर्नुपर्ने आवश्यकता देखिएको छ । पर्यटन प्रवद्र्धनसँगै कानुनको पालनालाई सुनिश्चित गर्ने, सार्वजनिक अनुशासन कायम राख्ने र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने दिशामा राज्यले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूको जोड दिएका छन् ।











प्रतिक्रिया