नेपालमा तीन महिनामै टिकटकका १९ लाखभन्दा बढी भिडियो हटाइए


काठमाडौं ।

टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै नेपालमा मात्र १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाएको जनाएको छ।

कम्पनीका अनुसार उक्त अवधिमा नेपालमा प्रकाशित कुल भिडियोमध्ये करिब ०.४५ प्रतिशत भिडियो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको पाइएपछि हटाइएको हो। यस अवधिमा उल्लङ्घन गर्ने सामग्री सक्रिय रूपमा हटाउने दर ९९.२५ प्रतिशत रहेको थियो भने हटाइएका भिडियोमध्ये ८६.५५ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको टिकटकले जनाएको छ।

प्रतिवेदनअनुसार नेपालमा थप समीक्षा गरेपछि ६१ हजार ९९२ वटा भिडियो पुनःस्थापित गरिएको छ।

विश्वव्यापी रूपमा भने टिकटकले पहिलो त्रैमासिकमा १८४.०१ मिलियनभन्दा बढी भिडियो हटाएको जनाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.५५ प्रतिशत हो। तीमध्ये १७८.०१ मिलियनभन्दा बढी भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८.८३ मिलियनभन्दा बढी भिडियो पुनःस्थापित गरिएको कम्पनीले जनाएको छ।

टिकटकका अनुसार विश्वभर कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने सामग्री हटाउने सक्रिय दर ९९.३५ प्रतिशत पुगेको छ। फ्ल्याग गरिएका सामग्रीमध्ये ९४.४५ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको कम्पनीको दाबी छ।

यस अवधिमा टिकटकले ८ करोड ६२ लाखभन्दा बढी फेक एकाउन्ट हटाएको जनाएको छ। साथै १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २ करोड ५७ लाखभन्दा बढी एकाउन्ट पनि हटाइएको कम्पनीले जानकारी दिएको छ।

प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीमा अटोमेसन प्रविधिको प्रयोग बढ्दै गएको देखाएको छ। कम्पनीका अनुसार अहिले अधिकांश नियमविपरीतका सामग्री स्वचालित प्रणालीमार्फत पहिचान गरी हटाइँदै आएका छन्।

लाइभ प्रसारणको निगरानी पनि थप कडा बनाइएको टिकटकले जनाएको छ। प्रतिवेदनअनुसार यस अवधिमा ५ करोड ८२ लाखभन्दा बढी लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरिएको थियो भने २ करोड १९ लाखभन्दा बढी लाइभ क्रियटरमाथि पनि यस्तै कारबाही गरिएको थियो। थप समीक्षापछि ४१ लाख ७१ हजारभन्दा बढी लाइभ सेसन पुनःस्थापित गरिएको कम्पनीले जनाएको छ।

टिकटकले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै कन्टेन्ट तथा एकाउन्टमाथि गरिएका कारबाहीबारे पारदर्शी जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ।