रौतहट।
रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइएको विरोधमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन्।
प्रदर्शनकारीहरूले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएकाले बजेट कार्यान्वयन, विकास निर्माणका काम तथा दैनिक सेवा प्रवाह प्रभावित भएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्री बालेन नेतृत्वको सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलविरुद्ध नाराबाजी गर्दै तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेका हुन्।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले “मौलापुरको बजेट फ्रिज गराउन पाइँदैन”, “मौलापुरमा हाकिम पठाऊ”, “अदालतको आदेश कार्यान्वयन गर” लगायतका नारासमेत लगाएका थिए।
स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले जिम्मेवारी सम्हाल्न नसकेपछि फिर्ता बोलाइए पनि हालसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन। यसले नगरपालिकाको आर्थिक तथा प्रशासनिक गतिविधि प्रभावित भएको उनीहरूको दाबी छ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगर शिक्षकहरूले महिनौँदेखि तलब नपाएको, बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राहीले भुक्तानी नपाएको तथा सरसफाइ कर्मचारीहरूले समेत पारिश्रमिक नपाउँदा सेवा प्रवाह प्रभावित भएको स्थानीयको भनाइ छ। साथै सर्वोच्च अदालतले निःशुल्क विद्युत् र खानेपानीलगायतका कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको भए पनि प्रशासनिक नेतृत्वको अभावमा आदेश कार्यान्वयन हुन नसकेको उनीहरूले बताएका छन्।
मौलापुर नगरपालिकाकी प्रमुख रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकालाई प्रशासनिक संकटमा पारेको तथा बजेट कार्यान्वयन प्रभावित बनाएको आरोप लगाएकी छन्।
यस विषयमा संघीय सरकार वा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने समाचार तयार पार्दासम्म सार्वजनिक भएको छैन।











प्रतिक्रिया