काठमाडौं
पाकिस्तान सरकारले पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम (पिटिएपी) अन्तर्गत शैक्षिक सत्र २०२६–२७ का लागि नेपाली विद्यार्थीलाई इन्जिनियरिङ र डी फार्मेसी अध्ययनका लागि १४ वटा छात्रवृत्ति उपलब्ध गराएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग्य नेपाली विद्यार्थीबाट आवेदन आह्वान गरेको छ।
मन्त्रालयका अनुसार छात्रवृत्तिअन्तर्गत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङमा दुई–दुई सिट तथा फार्मेसीमा ८ सिट उपलब्ध छन्।
छात्रवृत्तिका लागि त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), पुल्चोकको प्रवेश परीक्षाको मेरिट सूचीलाई आधार बनाएर उम्मेदवार छनोट गरिने बताइएको छ। आवेदन दिन इच्छुक विद्यार्थीले कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र आईओई प्रवेश परीक्षाको नतिजामा नाम समावेश भएको हुनुपर्ने मन्त्रालयले जनाएको छ।
इच्छुक विद्यार्थीले मन्त्रालयले सार्वजनिक गरेको गुगलफाराममार्फततोकिएकोसमयभित्र आवेदन दिनुपर्नेछ। आवेदनसँगै शैक्षिक ट्रान्सक्रिप्ट, नेपाली नागरिकताको प्रमाणपत्र तथा आईओई प्रवेश परीक्षाको स्कोर कार्डलगायत आवश्यक कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
पाकिस्तानको आर्थिक मामिला विभागले सञ्चालन गर्ने पिटिएपीअन्तर्गत विकासशील तथा मित्र राष्ट्रका विद्यार्थीलाई पाकिस्तानका मान्यता प्राप्त विश्वविद्यालय तथा प्राविधिक शिक्षण संस्थामा अध्ययनको अवसर प्रदान गरिँदै आएको छ। विदेशी विद्यार्थीको अन्तिम भर्ना सम्बन्धित विश्वविद्यालयको योग्यता, उपलब्ध सिट तथा मेरिटका आधारमा हुने व्यवस्था रहेको छ।
नेपाल र पाकिस्तानबीच शैक्षिक सहकार्यअन्तर्गत विगतका वर्षहरूमा पनि नेपाली विद्यार्थीले पीटीएपीमार्फत इन्जिनियरिङ, चिकित्सा, फार्मेसीलगायतका विषयमा अध्ययन गर्दै आएका छन्। काठमाडौंस्थित पाकिस्तानी दूतावासले बेलाबेलामा पीटीएपीअन्तर्गत अध्ययन पूरा गरेका नेपाली विद्यार्थीहरूको सम्मान कार्यक्रम आयोजना गर्दै दुई देशबीचको शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।











प्रतिक्रिया