अनलाइन ठगीदेखि साइबर बुलिङसम्म : सुरक्षित इन्टरनेट सिकाउँदै वर्ल्डलिंक

एक वर्षमा ३९२ समुदाय सदस्य र १ हजार ४५० विद्यार्थी लाभान्वित


काठमाडौं

इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै जाँदा साइबर ठगी, साइबर बुलिङ, व्यक्तिगत गोपनीयतामाथिको आक्रमण र गलत सूचनाको जोखिम पनि बढिरहेको छ। यही चुनौतीलाई मध्यनजर गर्दै वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सुरक्षित इन्टरनेट प्रयोग र डिजिटल साक्षरता प्रवर्द्धन गर्ने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमलाई विद्यालयबाट समुदायस्तरसम्म विस्तार गरेको छ।

कम्पनीले सञ्चालन गर्दै आएको ‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ मार्फत नेपालमै पहिलो पटक समुदायलाई लक्षित गरी सुरक्षित इन्टरनेट प्रयोग, डिजिटल साक्षरता तथा साइबर जोखिम न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। गत साउन २०८२ देखि जेठ २०८३ सम्म काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।


कार्यक्रमको दायरा चालु आर्थिक वर्षदेखि अझ विस्तार गरिएको कम्पनीले जनाएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा १९ वटा विद्यालयका करिब १ हजार ४५० विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको छ। विद्यार्थी, शिक्षक र अभिभावकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि विद्यालयमा सीमित कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिएको कम्पनीको भनाइ छ।

वर्ल्डलिंककी प्रमोटर सेयरहोल्डर तथा सीएसआर निर्देशक अनुपा भण्डारी जालानले डिजिटल प्रविधि आजको जीवनशैलीको अभिन्न हिस्सा बने पनि त्यससँगै साइबर दुर्व्वहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन तथा गलत सूचनाको जोखिम पनि बढेकाले विशेषगरी बालबालिका, युवा र समुदायलाई सुरक्षित तथा जिम्मेवार इन्टरनेट प्रयोगबारे सचेत गराउनु आवश्यक भएको बताइन्। उनका अनुसार केही वर्षअघि सुरु गरिएको यो अभियान अहिले विद्यालय र समुदाय दुवै तहमा निरन्तर सञ्चालन भइरहेको छ। यसले इन्टरनेटका अवसर र चुनौतीबारे जानकारी दिनुका साथै सुरक्षित तथा जिम्मेवार डिजिटल व्यवहार विकास गर्न सहयोग पुर्‍याइरहेको छ।

यसै आर्थिक वर्षमा समुदायस्तरमा मात्रै १२ वटा तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। काठमाडौं महानगरपालिका वडा नं. ९ र १०, टोखा नगरपालिकाका सबै वडासँगै महिला मानवअधिकार संस्था लगायतसँगको सहकार्यमा सञ्चालित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।


तालिममा सहभागीलाई जिम्मेवार इन्टरनेट प्रयोग, डिजिटल साक्षरता, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, अनलाइन ठगी तथा गलत सूचनाका जोखिमबारे व्यवहारिक ज्ञान दिइएको थियो। कार्यक्रमका लागि तयार गरिएको तालिम सामग्री नेपाल प्रहरीको साइबर ब्युरोबाट अध्ययन गरी विद्यालय तथा समुदायमा प्रयोगका लागि अनुमोदन गरिएको कम्पनीले जनाएको छ। यसबाट कार्यक्रमको गुणस्तर, विश्वसनीयता र प्रभावकारिता थप मजबुत बनेको कम्पनीको दाबी छ।

कार्यक्रममा सहभागीहरूले तालिमबाट डिजिटल सुरक्षासम्बन्धी ज्ञान वृद्धि भएको, सुरक्षित इन्टरनेट प्रयोगका व्यवहारिक उपाय सिक्न पाएको तथा प्राप्त जानकारी परिवार र समुदायमा समेत फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। केही सहभागीले यस्ता कार्यक्रम समुदायका थप व्यक्तिसम्म पुर्‍याउनुपर्ने सुझाव पनि दिएका छन्।

वर्ल्डलिंकले आगामी वर्षहरूमा पनि डिजिटल समावेशीकरण, डिजिटल साक्षरता र सुरक्षित अनलाइन संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम थप समुदायमा विस्तार गर्ने योजना रहेको जनाएको छ। कम्पनीका अनुसार निजी क्षेत्रको सीएसआर पहलमार्फत सामुदायिक डिजिटल सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले अभियानलाई निरन्तरता दिइनेछ।