लमजुङ ।
लमजुङमा पाँच दिनदेखि परिवारको सम्पर्कमा नरहेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बेसीशहर नगरपालिका–२ स्थायी घर भई हाल बेसीशहर नगरपालिका–८ मा बसोबास गर्दै आएका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको शव बिहीबार बेसीशहर–१ स्थित पेन्टिङडाँडामाथिको जंगलमा भेटिएको हो।
गत आइतबारदेखि सम्पर्कविहीन भएका बोहोराको परिवार तथा आफन्तले निरन्तर खोजी गरिरहेका थिए। खोजीका क्रममा उनका छोरा प्रविन बोहोरा र साथीहरूले जंगलमा शव देखेपछि तत्काल प्रहरीलाई जानकारी दिएका थिए।
सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउको र अनुहारमा चोटपटक देखिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले हत्या भएको हुन सक्ने आशंकामा विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया