फ्रान्सविरुद्ध मोरोक्को एम्बाप्पेको रफ्तार कि मोरोक्कोको फलामे पर्खाल

फ्रान्सविरुद्ध मोरोक्को (असार २५ गते बिहीबार राति १२ः४५ बजे)


सन २०२२ को कतार फिफा विश्वकपको सेमिफाइनलको त्यो चर्चित भिडन्त फेरि एकपटक मैदानमा जीवित हुँदैछ । यसपटकको क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स र सनसनीपूर्ण लयमा रहेको मोरोक्को आमनेसामने हुँदा विश्व फुटबलको तापक्रम उत्कर्षमा पुगेको छ । मोरोक्कोका लागि यो खेल केवल एक प्रतिस्पर्धामात्र होइन, इतिहास रच्ने स्वर्णिम अवसर पनि हो ।

लगातार दुई पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेर कीर्तिमान कायम गरिसकेको मोरोक्को अब लगातार दोस्रोपटक सेमिफाइनलको ढोका ढकढक्याउँदै छ । नेदरल्यान्ड्सको पतन होस् वा ब्राजिलविरुद्धको त्यो वीरतापूर्ण प्रदर्शन, ३४ खेलसम्म अपराजित मोरोक्को अहिले उपाधिको बलियो दाबेदारको रूपमा उदाएको छ ।

यता, फ्रान्स भने लगातार सानदार लयमा अघि बढिरहेको छ । कप्तान केलियन एम्बाप्पेको जादुयी लय र टोलीको मानसिक दृढताले फ्रान्सलाई अजेय बनाएको छ । प्रतियोगितामा ७ गोल गरिसकेका एम्बाप्पेले मोरोक्कोलाई सामान्य ठान्ने गल्ती गरेका छैनन् । बरु अघिल्लो संस्करणभन्दा मोरोक्को निकै सन्तुलित र खतरनाक देखिएको भन्दै आफ्नो टोलीलाई हतार नगरी संयमित भएर खेल्न सचेत गराएका छन् । एम्बाप्पेको आक्रामक धार र मोरोक्कोको फलामे रक्षापंक्तिको यो द्वन्द्व निश्चय नै रोमाञ्चक हुनेछ । के फ्रान्सले आफ्नो साख जोगाउँदै सेमिफाइनलको यात्रा तय गर्ला त ? कि मोरोक्कोले अर्को ऐतिहासिक उलटफेर गर्दै विश्वलाई चकित पार्ला ? सम्पूर्ण विश्वको नजर अब यस महाभिडन्तमा टिकेको छ । यो फुटबल हो, यहाँ जे पनि सम्भव छ ।