काठमाडौं, (नेस) ।
फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता आर्थिक दृष्टिकोणले निकै लाभदायक देखिएको छ । यसपटकदेखि ४८ टोली र १०४ खेलहरू समावेश गरिएको २०२६ को विस्तारित संस्करणले फिफाको आम्दानीका सबै पुराना रेकर्डहरू तोड्ने निश्चित भएको छ । सन् २०२३–२०२६ को चार वर्षे चक्रमा फिफाले कुल १३ अर्ब अमेरिकी डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।
जुन कतार विश्वकपको तुलनामा झण्डै दोब्बर हो । यस कीर्तिमानी आम्दानीको मुख्य हिस्सा टेलिभिजन र मिडिया प्रसारण अधिकारबाट आउनेछ । जसबाट फिफाले करिब ४ अर्ब डलरभन्दा बढी संकलन गर्नेछ । यसका साथै, ‘डाइनामिक प्राइसिङ’ प्रणालीसहितको टिकट बिक्री र हस्पिटालिटीबाट ३ अर्ब डलर तथा विश्वस्तरीय बहुराष्ट्रिय कम्पनीहरूसँगको व्यावसायिक साझेदारीबाट थप २ अर्ब डलरभन्दा बढी आम्दानी हुने अनुमान छ ।
फिफा गैर–नाफामूलक संस्था भएकाले यसले आर्जन गरेको आम्दानीको अधिकांश हिस्सा (करिब ११.६७ अर्ब डलर) विश्व फुटबलको विकासमा पुनःलगानी गर्ने प्रतिवद्धता जनाएको छ । यसअन्तर्गत विश्वकप सञ्चालन र व्यवस्थापनमा मात्र ३.८ अर्ब डलर खर्च हुनेछ भने सहभागी टोलीहरूका लागि इतिहासकै सबैभन्दा धेरै ८७१ मिलियन डलरको पुरस्कार प्याकेज स्वीकृत गरिएको छ । साथै, आफ्ना खेलाडीहरूलाई राष्ट्रिय टोलीमा पठाउने क्लबहरूलाई क्षतिपूर्ति स्वरूप ३५५ मिलियन डलर छुट्याइएको छ ।
फिफाको प्रत्येक सदस्य राष्ट्रले ८० लाख डलर पाउने भनिए पनि नेपालजस्ता सदस्य राष्ट्रहरूले पाउने रकमको विषयमा भने स्पष्ट हुन आवश्यक छ । फिफाले विश्वकपको आम्दानीबाट नेपाललाई सिधै ८० लाख डलर नगद दिने होइन । यो रकम फिफाको ‘फिफा फरवार्ड ३.०’ कार्यक्रमअन्तर्गत सदस्य राष्ट्रहरूका लागि तोकिएको चार वर्षे विकास बजेटको अधिकतम सीमा हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो रकम प्राप्त गर्न फुटबल पूर्वाधार निर्माण, ग्रासरुट विकास, महिला फुटबलको प्रवद्र्धन र क्षमता अभिवृद्धिजस्ता पूर्व–स्वीकृत परियोजनाहरू सञ्चालन गर्नुपर्छ । फिफाले यी परियोजनाहरूको प्रगति प्रतिवेदन, लेखापरीक्षण र कार्यसम्पादनको आधारमा मात्र किस्ताबन्दीमा रकम निकासा गर्छ । तसर्थ, नेपालले पाउने रकम एन्फाको परियोजना योजना र कार्यान्वयन क्षमतामा निर्भर रहनेछ ।











प्रतिक्रिया