वासिंटन, (एजेन्सी) ।
फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्विट्जरल्यान्डले ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । क्यानाडाको भ्यानकुभरस्थित बिसी प्लेस रंगशालामा मंगलवार राति सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
तनाबपूर्ण ‘सडन डेथ’ को दबाबबीच स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले संयमता देखाउँदै गोल गरे । यता, कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल हुँदा टोलीको विश्वकप यात्रा टुंगिएको छ । सन् १९५४ पछि पहिलो पटक विश्वकपको अन्तिम आठमा पुगेको स्विट्जरल्यान्डका लागि यो १३औं सहभागितामा चौथो पटकको क्वार्टरफाइनल प्रवेश हो । अब सेमिफाइनलको प्रतिस्पर्धाका लागि टोलीले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ ।
अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन जित र मेसीको कीर्तिमान
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को रोमाञ्चक जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो । एट्लान्टामा सम्पन्न खेलमा ७९औं मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले खेलको अन्तिम १० मिनेटमा जादुमयी प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो ।
खेलको १५औं मिनेटमा यासर इब्राहिम र ६७ औं मिनेटमा मोस्तफा जिकोको गोलमार्फत इजिप्ट जितको नजिक पुगेको थियो । तर, ७९औं मिनेटमा क्रिस्टियन रोमेरोको हेडर गोलबाट सुरु भएको अर्जेन्टिनाको आक्रामक यात्रालाई ८३औं मिनेटमा कप्तान लियोनल मेसीले बराबरी गोलमा बदलिदिए । खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले विजयी गोल गर्दै टोलीलाई अन्तिम आठमा पु¥याए ।
यो खेलसँगै कप्तान लियोनल मेसीले थुप्रै ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाएका छन् । उनी विश्वकपको लगातार ६ वटा नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् भने लगातार ९ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान पनि थपेका छन् । त्यस्तै, विश्वकपका ९ गोलमा एसिस्ट गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
यसबाहेक, २१ गोलका साथ उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । यद्यपि, मेसीका लागि यो खेल मिश्रित रह्यो । उनले प्रतियोगितामा दोस्रोपटक पेनाल्टी प्रहारमा गोल गर्न असफल रहे । अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँगको भेट पक्का गरेको छ ।











प्रतिक्रिया