काभ्रे ।
२०८१ असोज १०–१२ गतेको बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा वर्षायाममै पुरानै ट्र्याकबाट सवारी सञ्चालन गर्न सकिने गरी अस्थायी पुनर्निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले वर्षायाममा सकेसम्म राजमार्ग अवरुद्ध हुन नदिने र अवरोध भएमा दुई घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शंकर खनालका अनुसार चौकीडाँडादेखि पिप्लेसम्म बाढीबाट क्षतिग्रस्त पुरानै ट्र्याक पुनः सञ्चालनमा ल्याइएको छ । कटुञ्जेबेँसी, लास्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्मका अधिकांश स्थानमा पुरानै ट्र्याकबाट सवारी सञ्चालन हुने गरी पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । ‘हालसम्म ठूलो वर्षा सुरु नभएकाले केही स्थानमा निर्माण कार्य निरन्तर चलिरहेको छ । खोलाको सतहभन्दा तीनदेखि चार मिटर माथिबाट सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ,’ इन्जिनियर खनालले भन्नुभयो ।
वर्षायाममा पहिरो र सडक अवरोधको सम्भावित जोखिमलाई ध्यानमा राख्दै डोजर, एक्स्काभेटरलगायतका हेभी उपकरण रणनीतिक स्थानमा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । ‘राजमार्गको जुनसुकै खण्डमा अवरोध भए पनि दुई घण्टाभित्र सडक खुलाउने गरी पूर्वतयारी गरिएको छ’ –उहाँले भन्नुभयो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वर्षायामअघि नै जोखिमयुक्त स्थानमा मर्मत तथा स्तरोन्नतिको काम सम्पन्न गरी राजमार्ग सञ्चालनयोग्य बनाउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि उहाँले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिनुभयो ।
इन्जिनियर खनालका अनुसार २०८१ असोज १० देखि १२ गतेसम्म आएको बाढीले क्षति पु¥याएको राजमार्ग पुनर्निर्माणको काम चार खण्डमा विभाजन गरिएको छ । तीमध्ये तीन खण्डमा निर्माण कार्य सुरु भइसकेको छ भने चौथो खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत पुनर्निर्माण हुने भएकाले ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाल सञ्चालनमा रहेका तीन खण्डमा औसत २५ प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।
हाल पिप्लेदेखि डालाबेँसीसम्म २.३ किलोमिटर, डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर तथा चारसयबँेसीदेखि भकुण्डेबेँसी–चौकीडाँडासम्म ११ किलोमिटर सडक पुनर्निर्माण भइरहेको छ । तीमध्ये पहिलो खण्डमा २० प्रतिशत, दोस्रोमा २६ प्रतिशत र तेस्रोमा २५ प्रतिशत निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका क्रममा दुई लेन सडक विस्तारसँगै आरसीसी, टेवा, ढुंगाका तथा ग्याबियन पर्खाल निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । तीनवटै खण्डमा ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गरिनेछ ।
सडक डिभिजन कार्यालयका अनुसार चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुंगा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ । वर्षायामअघि आवश्यक संरचना निर्माण गरी खोलाको किनार होइन, राजमार्गकै ट्र्याकबाट सवारी सञ्चालन गराउने लक्ष्यसहित काम अघि बढाइएको हो ।
बाढीबाट क्षतिग्रस्त भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनमा विस्तार गरिनेछ । बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक पुनर्निर्माणका लागि जाइकामार्फत ठेक्का सम्झौता हुने चरणमा रहेको छ । निर्माण कम्पनीहरूको कार्यतालिकाअनुसार सम्पूर्ण पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किलोमिटर सडक पुनर्निर्माणका लागि उमा एण्ड कम्पनी–भण्डारी अमरज्योति जेभीसँग ६८ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर खण्ड लामा–नव कान्तिपुर जेभीले एक अर्ब ४२ करोड रुपैयाँमा निर्माण गरिरहेको छ भने चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको ११ किलोमिटर सडक खानी–एवान–कमलजीत जेभीले एक अर्ब ३३ करोड रुपैयाँमा पुनर्निर्माण गरिरहेको छ ।











प्रतिक्रिया