काठमाडौँ।
पाकिस्तानको निजी कार्गो सेवा के२ एयरवेजको बोइङ ७३७-४०० कार्गो विमान शारजाहबाट कराँची आउँदै गर्दा बेपत्ता भएको घटनामा खोजी तथा उद्धार (Search and Rescue) अभियान अझै जारी छ। विमानमा चालक दलका पाँच जना सदस्य सवार रहेको पुष्टि गरिएको छ।
पाकिस्तान एयरपोर्ट अथोरिटी (PAA) का अनुसार मंगलबार राति ९:१८ बजे (पाकिस्तानी समय) विमानले नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी कराँची एयर ट्राफिक कन्ट्रोललाई दिएको थियो। त्यसको तीन मिनेटपछि, ९:२१ बजे, रडारमा विमानले अचानक तीव्र गतिमा उचाइ गुमाउँदै दिशा परिवर्तन गरेको देखिएको थियो। त्यसपछि विमानसँग सम्पर्क पूर्ण रूपमा टुटेको थियो।
प्रारम्भिक विवरणअनुसार विमान कराँचीबाट करिब १५५ नौटिकल माइल (झन्डै ३०० किमी) पश्चिम, अरब सागरमाथि बेपत्ता भएको हो। पाकिस्तान नौसेना, वायुसेना तथा अन्य समुद्री निकायहरू संयुक्त रूपमा खोजी अभियानमा परिचालित छन्।
उडान ट्र्याकिङ सेवा फ्लाइटराडार२४ले प्राप्त प्रारम्भिक डाटाअनुसार विमान अन्तिम क्षणमा असामान्य रूपमा उचाइ गुमाएको देखिएको छ। यद्यपि, विमान दुर्घटनाग्रस्त भएको आधिकारिक पुष्टि भने अहिलेसम्म गरिएको छैन। घटनाको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।











प्रतिक्रिया