मुगुमा खाना पकाउने एलपी ग्यासको अभाव


मुगु। 

हिमाली जिल्ला मुगुमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। जिल्लाको सदरमुकाम गमगढी बजारमा ग्यास नपाउँदा स्थानीय बासिन्दा दैनिक खाना पकाउन समस्या भोग्न बाध्य भएका छन्।

केही सातादेखि ग्यास आपूर्ति नियमित हुन नसक्दा बजारमा रहेका अधिकांश डिपो र पसलमा ग्यास सकिएको छ। ग्यास खोज्दै पसल–पसल धाउँदा पनि नपाएको स्थानीयको गुनासो छ। ग्यास अभावका कारण धेरै परिवार दाउरा र अन्य वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएका छन्।

स्थानीयवासीका अनुसार बजारमा ग्यास आउने निश्चित समय नहुँदा समस्या झन् बढेको छ। ग्यास पाइने हल्ला चल्नेबित्तिकै उपभोक्ताको भीड लाग्ने गरेको छ।
कतिपय उपभोक्ताले खाली सिलिन्डर बोकेर दिनौंसम्म पालो कुरेर पनि ग्यास  नपाउने अवस्था रहेको बताएका छन्।

स्थानीय व्यवसायीका अनुसार ग्यास  खरिद गर्ने स्थानमा समेत पर्याप्त मात्रामा ग्यास पाउन कठिनाइ भएपछि आपूर्ति व्यवस्थापनमा समस्या आउँदा पर्याप्त मात्रामा ग्यास जिल्लामा भित्रिन नसकेको हो। मागअनुसार ग्यास उपलब्ध हुन नसक्दा उपभोक्ता मर्कामा परेका छन्।

स्थानीयहरूले सम्बन्धित निकाय र आपूर्तिकर्ता कम्पनीलाई ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्। ग्यास अभाव लामो समयसम्म जारी रहे सदरमुकाम गमगढीसहित जिल्लाभरका उपभोक्ताको दैनिक जीवन थप प्रभावित हुने देखिएको छ।